ताम्कु । सिलिचोङ २ बालाको बौद्ध गुम्बामा गयराती आगजनी गरि पुरातात्विक बस्तु र गरगहना चोरी भएको छ । दुई हप्ता अघि पनि गाउँपालिका कार्यालय परिषरबाट नै मोटरसाईकल चोरी भएको थियो ।
यस अघि पनि यस्ता चोरीको घटना पटक पटक भएको थियो । घरमा पालेको भालेदेखि जडान गरिएको सोलार प्यानल समेत चोरी भएको थियो । सिलिचोङमा पछिल्लो समय चोरीको घटना बढ्दो छ । यसरी चोरीको घटना बढेपनि कारबाही भने हुन सकेको छैन । चोरीको घटना बढेपनि चोरी गर्ने पत्ता लाग्न नसक्दा घटना न्युनिकरण हुनुका साटो बढेर गएको छ ।
चोरीका पिडितहरुले सुरक्षा निकायमा उजुरी दिएपनि अहिलेसम्म कारबाही हुन सकेको छैन । गएको दुई हप्ता अघि मोटरसाईकल चोरीको घटना सिसि टिभिमा खिचिएको भिडियो भएपनि चोरी गर्ने ब्यक्ति अझै पत्ता लाग्न सकेको छैन । उक्त भिडियो ताम्कु प्रहरी चौकीलाई उपलब्ध गराईएको सिलिचोङ प्रसासनले जनाएको छ । तर उक्त घटनामा संलग्नको पहिचान अहिलेसम्म हुन सकेको छैन । चोरिएको मोटरसाईकल शुक्रबारे बजार नजिकै छोडिएको थियो । यसरी चोरीको घटना बढ्दै जाँदा सिलिचोङको सुरक्षा अवस्था कमजोर रहेको स्थानीय नागरिकहरुको गुनासो छ । घटनाको बारेमा स्थानीय प्रहरीलाई जानकारी गराएपनि अनुसन्धानमा त्यत्ति चासो नदिएको सिलिचोङ २ बालाका ईन्द्रबहादुर कुलुङको आरोप छ ।
सिलिचोङ ठुलो भुगोल भएको र दुर्गम स्थान भएकोले जनशक्ति अभावको कारण सुरक्षा दिन केहि समस्या भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मिमबहादुर लामाको भनाई छ । थोरै जनशक्तिले पनि जनधनको सुरक्षामा आफु मातहतका युनिटहरु सक्रिय रहेको र अव अझ सक्रिय बनाउने डिएस्पी लामाले बताउनुभयो । यस अघिका घटनाहरुको अनुसन्धान भईरहेको बताउनुहुँदै सवै अनुसन्धानको नतिजा तत्काल आउन नसक्ने लामाको भनाई छ । अनुसन्धानमा स्थानीयले पनि सघाए प्रहरी प्रसासनलाई सहज हुने डिएस्पी लामाले बताउनुभयो । चोरीबाट बच्नको लागि नागरिकहरु पनि सचेत बन्न उहाँले आग्रह गर्नुभयो ।
बौद्ध गुम्बा यसरी भत्काएर चोरी गरिएको थियो । तस्बिरः मोहन संशेर कुलुङ
प्रतिक्रिया