सिलिचोङ गाउँपालिकाले ३९५ परिवारलाई बाड्यो राहत




ताम्कु । रोरोना भाईरसको कारण सरकारले गरेको लकडाउनका कारण खाद्यन्न जोहो गर्न नसक्नेहरुलाई सिलिचोङ गाउँपालिकाले खाद्यन्न राहत वितरण गरेको छ । दैनिक ज्याला मजदुरी गर्ने र अति न्युन आय भएको तीन सय ९५ परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको हो ।

गाउँपालिकाले वडाले सिफारिस गरेको परिवारलाई राहत वितरण गरेको हो । राहत पाउनेहरुको पहिचान गर्नको लागि वडाले टोल विकास संयोजकहरुले समन्वय गरेको वडाअध्यक्षहरुले बताएका छन् । राहत पाउनेहरुको बिवरण संकलन गर्न आफुहरु भन्दा पनि प्रत्येक टोलका संयोजकहरु बढि जानकार भएकोले उनीहरुको सहयोग लिएर राहत बाँडिएको वडा नम्बर ५ याफुका अध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो । राहत पाउनेहरुको छनौट गर्दा स्थानीय राजनितिक दलका प्रतिनिधीहरु र नागरिक अगुवाहरुसँग पनि परामर्श लिएकोले बिवाद नआउने वडा नम्बर २ का अध्यक्ष मोहन संशेर कुलुङले दावी गर्नुभयो ।

यस पटक गाउँपालिकाले तीन वा तीन भन्दा बढी सदस्य भएको परिवारलाई तीस किलोग्राम चामल, तीन किलो ग्राम दाल, एक लिटर तेल र सावुन वितरण गरेको छ । दुई वा दुई भन्दा कम सदस्य भएको परिवारलाई त्यसको आधा सामग्रीहरु दिईएको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो ।

सवैभन्दा धेरै वडा नम्बर ३ मा एक सय ३ जनालाई राहत वितरण गरिएको छ । सवै भन्दा कम वडा नम्बर ५ मा १८ जनालाई राहत वितरण गरिएको छ । त्यस्तै, वडा नम्बर १ मा ९४ जना, वडा नम्बर २ मा एक सय जना र वडा नम्बर ४ मा ८० जनालाई राहत सामग्री प्रदान गरिएको छ । सवैभन्दा धेरै राहत वितरण गरिएको वडा नम्बर ३ मा जनसंख्या पनि बढी भएको र वडा नम्बर ५ मा सवैभन्दा थोरै जनसंख्या रहेको अध्यक्ष कुलुङले स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार