पहिरो विस्थापितलाई सहयोग जुट्दै, राहत पारदर्शी बनाउन प्रशासनको सुझाव



राहत बुझिलिनुहुँदै जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य ।

खाँदबारी । जिल्लाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा असार २७ गते गएको पहिरो विस्थापितहरुको लागि देश विदेशमा सहयोग सङ्कलनले तिब्रता पाएको छ । विस्थापितहरुको बास र गाँस ब्यवस्थापनको लागि राहत सङ्कलनको काम धमाधम भईरहेको हो ।

पहिरो पिडितहरुको लागि नेपाल भित्र सङ्खुवासभा र काठ्माण्डौमा विभिन्न समुह तथा संस्थाहरुले सहयोग सङ्कलन गरिरहेका छन् । त्यस्तै, देश बाहिर दक्षिण कोरिया, अमेरिका, बेलायत लगायतका देशहरुमा राहत सहयोग संकलन भईरहेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । देश भित्र कुलुङ संघ संखुवासभा, सिलिचोङ समन्वय समिति काठ्माण्डौ, सिलिचोङ काठ्माण्डौ समन्वय समिति काठ्माण्डौ र सिर्जनशिल सामुदायिक विकास केन्द्र सङ्खुवासभाले राहत संकलन गरिरहेको छ ।

दक्षिण कोरियामा स्वागन्त्र युवा समुहले राहत संकलन गरिरहेको छ भने बेलायतमा पनि कुलुङ संघ युके नामको संस्थाले राहत संकलन गरिरहेको अध्यक्ष कुलुङले बताउनुभयो । बेलायतमा सङ्खुवासभा समाज युकेले पनि संकलन गरिरहेको छ । त्यस्तै अमेरिकामा सङ्खुवासभाको सिलिचोङ ३ घर भई अमेरिका बस्दै आउनुभएका बुद्ध कुलुङको नेतृत्वमा राहत संकलन भईरहेको अमेरिकाबाट बुद्ध कुलुङले जानकारी दिनुभयो ।

राहत संकलन अभियान्ताहरुले बैक खाता खोलेर उक्त खातामा रकम जम्मा गर्दै आएका छन् । कुलुङ संघ सङ्खुवासभाका अनुसार हालसम्म आफुहरुको राहत कोषमा एक लाख रुपैयाँ भन्दा बढी रकम जम्मा भईसकेको जानकारी दिनुभयो । संघले जिल्लाको सदरमुकाम खाँदबारीमा घरदैलो कार्यक्रम गरेर पनि राहत संकलन गरेको छ । सिलिचोङ समन्वय समिति काठ्माण्डौले भने सामाजिक सञ्जालको माध्ययमबाट रकम सङ्कलन गर्दै आएको समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिनुभयो । हालसम्म ६ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भईसकेको उहाँले जानकारी दिनुभयो । देश बाहिर पनि सामाजिक सञ्जालबाट आव्हान गरेकै भरमा राहत रकम संकलन भईरहेको अभियान्ताहरुले बताएका छन् । चिनेजानेका साथीभाईहरुबाट सहयोग आव्हान गरेर जम्मा गरेको रकम करिव तीन लाख पुग्न लागेको दक्षिण कोरियाका अभियान्ता उदिप कुलुङले जानकारी दिनुभयो ।

अभियान बाहेक पनि राहत सामग्री जुट्दै आएको छ । विभिन्न ब्यक्ति र संस्थाहरुले जिल्ला समन्वय समिति मार्फत पनि सामग्रीहरु उपलब्ध गराउदै आएका छन् । हालसम्म जिल्ला समन्वय समिति मार्फत चार संस्थाहरुले चामल, दाल, नुन, तेल लगायतका सामग्रीहरु उपलब्ध गराएका छन् । उक्त सामग्रीहरु केहि दिनमा पुर्नस्थापना गरिएको बस्तीमा नै गएर वितरण गर्ने तयारी रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयो ।

राहत सङ्कलनमा जिल्ला प्रशासनको निगरानी

पहिरोको घटना पछि विभिन्न स्थानमा सुरु गरिएको राहत सङ्कलनमा जिल्ला प्रशासन कार्यालयले चासो बढाएको छ । विपदमा राहतको नाममा रकम सङ्कलन गरेर दुरुपयोग हुने सम्भावना रहने भन्दै प्रशासन कार्यालय सङ्खुवासभाले निगरानी बढाएको हो ।

राहत संकलन अभियान्ता र प्रमुख जिल्ला अधिकारी विच छलफल हुँदै ।

राहतको नाममा गलत कृयाकलाप रोकथामको लागि राहत संकलन गर्ने संस्था र ब्यक्तिहरुलाई प्रशासन कार्यालयले सम्पर्कमा रहन अनुरोध गरेको छ । कतिपयले राहतको नाममा गुणस्तर हिन सामग्रीहरु समेत वितरण गर्ने भएकोले समेत यस बारे सचेत बनाउनको लागि सम्पर्कमा बस्न र राख्नु परेको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले बताउनुभयो ।

हालसम्म जिल्ला प्रशासन कार्यालयमा चार वटा संस्थाहरुले मात्र राहत सङ्कलकको रुपमा सम्पर्क गरेको समेत प्रजिअ आचार्यले बताउनुभयो । ‘विपदको समयमा सहयोग गर्नेहरुलाई हाम्रो पुर्ण समर्थन छ, तर कसैले दुरुपयोग वा हिनामिना गरेको उजुरी नआओस’, प्रजिअ आचार्यले भन्नुभयो । राहत सङ्कलन पछि वितरणमा स्थानीय विपद ब्यवस्थापन समिति मार्फत एक द्वार प्रणाली अवलम्बन गर्न समेत आचार्यको सुझाव छ ।

सम्बन्धित समाचार