ताम्कु । सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको गोगने गाउँका भिमकुबीर कुलुङको घरमा ०७४ साल भदौ २७ गते आगलागी भएको थियो । उक्त घटनाको चार बर्षपछि फेरी उनैको घरमा आगलागी भएको छ ।
दिउँसो करिब २ बजे घरमा कोहि नभएको बेला आगलागी भएको हो । स्थानीय एक बृद्धाको अनुसार घरको छानाबाट आगो लागेको हो । घरको छानामा आगो सल्किसकेको अवस्थामा आफुले देखेको उक्त बृद्धाले बताएको स्थानीय अशोक कुलुङले जानकारी दिनुभयो ।
घरमा आगलागी हुँदा अन्नपात, लत्ता कपडा लगायतका सम्पुर्ण सामग्रीहरु नष्ट भएको छ । घटना लगत्तै नजिकै कोहि पनि नभएकोले केहि पनि निकाल्न नपाएको स्थानीय कुलुङले जानकारी दिनुभयो । ईमकालु अनलाईनसँग कुरा गर्नुहुँदै कुलुङले भन्नुभयो, ‘अन्नको नाममा एक गेडो चामल छैन, पकाउने र पस्किने एउटा चम्चा समेत निकाल्न सकिएन, लाउने लुगा शरिरमा भएको बाहेक छैन ।’ सात जनाको परिवार रहेको आगलागी पिडित कुलुङको परिवार अहिले गोठ बनाएर बसिरहेका छन् ।
पटक पटक आगलागी पिडित बन्दै आएका भिमकुबिरको लागि स्थानीय युवाहरु राहत संकलनमा जुटेका छन् । पिडितहरुको अवस्था नाजुक भएकोले स्थानीय अशोक कुलुङको नेतृत्वमा युवाहरु राहत संकलनमा जुटेका हुन् । उक्त युवाहरुको समुहले स्थानीय ब्यक्तिहरु र संघसंस्थाहरुबाट सहयोग जुटाउदै आएका छन् । हालसम्म विभिन्न ब्यक्ति र संस्थाहरुबाट लाख रुपैयाँ भन्दा बढि संकलन भईसकेको अशोक कुलुङले जानकारी दिनुभयो । ‘तत्काल त पकाउने र पकाईखाने नै समस्या छ,’ राहत संकलनका संयोजक कुलुङले भने, ‘अलि अलि भए पनि राहत संकलन भए घर बनाउन सहयोग पुग्लाकी भनेर अभियान चलाएका छौं ।’
अहिले आगलागी पिडित कुलुङको परिवार गोठ बनाएर बस्दै आएका छन् भने छिमेकीले दिएको लुगा कपडा र भाडाकुडा चलाउदै आएका छन् । केहि थाल बटुका भने स्थानीय क्लवले उपलब्ध गराएको छ । राहत संकलन टोलीले आगलागी पिडितहरुको पुनस्र्थापनाको लागि ईच्छुक दाताहरुलाई सहयोगको अनुरोध गर्दै आएका छन् । ईच्छुक दाताहरुले राहत अभियानका संयोजक अशोक कुलुङलाई ९८६३९९०५७० मा सम्पर्क गर्न सक्ने छन् ।
प्रतिक्रिया