सगरमाथा मावि ताम्कका प्रअ नरबुङ राईले माग पत्र हस्तान्तरण गर्नुहुँदै । तस्विरः ध्यान कुलुङ
खाँदबारी । प्रदेश १ का सामाजिक विकास समितिका सभापती तथा प्रदेश सभा सदस्य सरिता खड्का र सांसद पदमकुमारी गुरुङ हिजोआज गृह जिल्ला सङ्खुवासभाको विभिन्न स्थानको अनुगमनमा हुनुहुन्छ । गाउँघरको बस्तुस्थिती बुझ्न गाउँ पस्नुभएका उहाँहरुलाई स्थानीयले स्वागत सत्कार मात्र नभएर विकास निर्माण सम्बन्धी मागको आईरो पनि लगाएका छन् ।
पाँचखपन नगरपालिका, सिलिचोङ गाउँपालिका र धर्मदेवी नगरपालिकाको गाउँघर अनुगमन गरिसक्नुभएका सांसदहरुलाई विकास निर्माण सम्बन्धी माग पत्रहरु स्थानीयले पेश गरेका छन् । केहि दिन अघि दुर्गम स्थानीय तह सिलिचोङ गाउँपालिकाको ३ वटा वडाको भ्रमण गर्नुभएका सांसदहरुलाई स्थानीयले २० भन्दा बढि लिखित माग पेश गरेका छन् । सिलिचोङ १ सिसुवाखोलाको पहिरो प्रभावित क्षेत्रहरुको अवलोकन गर्ने क्रममा सुरक्षित क्षेत्रमा स्थानान्तरण गराउन माग राखेका छन् । हिउँद सकिदै गएको र अब बर्खा लाग्ने भएकोले पहिरो विस्थापितहरुलाई चाँडो बासको ब्यवस्थापन गरिदिन अनुरोध गरेका थिए ।
सांसदको टोलीले सिलिचोङ गाउँपालिकाका विद्यालयहरु, स्वास्थ्य संस्था र सामुदायिक सिकाई केन्द्रलाई अनुगमनको प्राथमिकतामा राखेका थिए । उक्त कार्यालयहरुको अनुगमन गर्ने क्रममा कार्यालय प्रमुखहरुले प्रगति बिवरण प्रस्तुत गरेका थिए । प्राविधिक धार अन्तर्गत बाली बिज्ञानको समेत पढाई भईरहेको सगरमाथा माविका प्रधानाध्यापक नरबुङ राईले प्राविधिक ल्याब, विद्यालयको कम्पाउण्ड घेराबारा लगायतका ६ वटा बुदामा माग राख्नुभएको थियो । यता ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रले एक्सरे मेसिन लगायतको उपकरणहरुको माग राकेको छ । पहिलो चरणमा ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र आधारभुत अस्पताल निर्माणका लागि सिफारिस नभएको र दोश्रो चरणमा सिफारिस गर्न अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रतापसिं तामाङले माग राख्नुभयो ।
सिलिचोङ गाउँपालिकाको कार्यालयमा सांसदको टोलीलाई स्वागत गर्नुहुँदै गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले सडक सञ्जाल र पुल नभएकोले सिलिचोङ प्रवेशमा समस्या रहेको जानकारी दिनुभयो । हेलुवाबेँशीको अरुण नदिमा बन्न लागेको पुल चाँडो सम्पन्न गराउन, सङ्खुवाखोला र सिसुवाखोलामा मोटरेबल पुल निर्माणको लागि बजेट ब्यवस्था गर्न अध्यक्ष कुलुङले माग राख्नुभयो । उक्त खोलाहरुमा पुल निर्माण गर्न डिपिआर समेत तयार भईसकेको तर बजेट कतैबाट प्राप्त नभएको समेत अध्यक्ष कुलुङले जानकारी गराउनुभयो ।
उता पाँचखपन नगरपालिका र धर्मदेवी नगरपालिकामा पनि सांसदद्वयलाई उत्तिकै माग पत्रको चाङ लागेको छ । विद्यालयको भौतिक संरचना निर्माण, सडक पुर्वाधार, सामुदायिक भवन निर्माण लगायतका स्थानीयले माग गरेका छन् । धर्मदेवी नगरपालिकामा पर्ने उत्तर दक्षिण कोशी राजमार्ग बर्षौ वित्दा पनि निर्माण सम्पन्न हुन नसकेको र निर्माण भईसकेको समेत भत्किसकेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् । अन्तराष्ट्रिय महत्व बोकेको उक्त सडक नबन्दा दैनिक सयौ यात्रुले समस्या भोग्नु परेकोले धर्मदेवी नगरपालिकाका प्रमुख रमेश जिमीले गुनासो गर्नुभयो । याक्थुम्हाङ निर्माण सेवाले जिम्मा लिएको मुडेदेखि बसन्तपुर सम्मको सडक अझै निर्माण भईनसकेको र स्वच्छन्द निर्माण कम्पनीले बनाएको बाटो एक बर्ष नपुग्दै भत्किएको नगरप्रमुख जिमीले गुनासो गर्नुभयो । बर्षौ बित्दा पनि सडक नबनेको र बनेको सडक पनि गुणस्तरहिन भएकोले त्यस तर्फ सांसदहरुले ध्यान पुराउन नगरप्रमुख जिमीले माग राख्नुभयो ।
गाउँ घर अनुगमन पछि गोरखापत्र दैनिकसँग कुरा गर्नुहुँदै सामाजिक समितिका सभापति तथा सांसद सरिता खड्काले नागरिकहरुको माग आउनु अति स्वभाविक रहेको बताउनुभएको छ । आफ्नो गाउँठाउँमा विकास होस भन्ने सवैको चाहना हुने भएकोले सवै मागहरु जायज रहेको प्रतिकृया दिनुभयो । सबै मागहरु एकै पटक पुरा गराउन नसक्ने भएकोले प्राथमिकताको आधारमा पुरा हुदै जाने सांसद खड्काले बताउनुभयो । भ्रमणको क्रममा पछिल्लो समय गाउँ गाउँमा विकासको गति बढेको प्रदेश सभा सदस्य पदमकुमारी गुरुङले बताउनुभयो । सुशासन कायम गर्दै यहि गतिमा विकास हुने हो भने दरदराजका मानिसहरुको पनि सुखको दिन टाढा नरहेको उहाँले प्रतिकृया दिनुभयो । उत्तर दक्षिण कोशी राजमार्ग कालोपत्रे गर्ने काममा पहिलेदेखि नै समस्या रहेको बताउनुहुँदै भत्किएको बाटो मर्मत गराउन र निर्माण चाँडो सकाउन निर्माण कम्पनीलाई ताकेता गर्ने बताउनुभएको छ ।
गोरखापत्र राष्ट्रिय दैनिकबाट साभार गरिएको ।
प्रतिक्रिया