आजभन्दा २७ बर्ष अघि संखुवासभाको मकालु ३ आलामा जन्मिएका बिशाल याम्फु (Mfu Vai) घरकै कान्छो सन्तान हुन् । बाल्यकालमा एकदम लजालु स्वभावका विशालले आफ्नो प्रारम्भिक देखि माध्यमिक तहसम्मको अध्ययन गाउँकै विद्यालयमा पुरा गरे । इमान्दारितालाई आफ्नो धर्म मान्ने विशाल सानैदेखि लगनशिल र मेहनती थिए ।
काठमान्डु एउटा त्यस्तो शहर हो, जहाँ हज्जारौं सपनाहरु पुरा हुन्छन् र कयौंको यस्सै तुहिन्छन् पनि । त्यही सपनाहरुको शहरमा विशालको पनि एक सपना थपियो २०६६ सालमा । अर्थात् उच्च शिक्षाको सपनाले विशाललाई पनि काठमान्डौतिर डोर्यायो । विशाललाई काठ्माण्डौमा खाने, बस्ने आदिमा समस्या थिएन, कारण उनको दाई भोगेन्द्र याम्फु यस अघिदेखि नै काठ्माण्डौको कपुरधारामा बस्दै आएका थिए । उनले उच्च शिक्षाको लागि सामाखुसी स्थित नवोदित कलेजमा भर्ना भए, शिक्षा संकायतर्फ गणित बिषय लिएर। उनले त्यही प्लस टु सम्मको अध्ययन गरे । स्नातकका लागि भने माछापोखरीमा रहेको ग्रामिण बहुमुखी क्याम्पस उनको रोजाई बन्यो । २०७२ सालमा स्नातक पुरा गरे ।
आफ्नो गाउँका प्रायः दाइहरु, समकालीन साथीहरु निजामती जागिरे भएकै कारण उनको दिमागमा पनि लोकसेवा पढेर निजामती कर्मचारी हुने भूत सवार नभएको भने होइन । उनले रहर पूरा गर्न कोसिस नगरेका पनि होइनन् । एक बर्षसम्म नासु, खरदार, अधिकृतमा मोठा ठेलीहरु घोकेका पनि हुन् उनले । तर, उनको ध्यान आइक्यु र प्रश्नोत्तर भन्दा पनि धेर टेक्निकल लाइनमा बस्यो । उनीसँग गाउँकै दौंतरी कृष्ण याम्फु फेरि जोडिए । जो प्लस टु पढ्दाताका सँगै कम्प्युटर सिक्ने क्रममा भेटिएका थिए। उनै कृष्णसँग उनको सामिप्यता बढ्न थाल्यो, जो आइटीका राम्रा विद्यार्थी थिए। उनी सिक्थे पनि सिकाउँथे पनि । विशाल ती दिनहरु सम्झँदै भन्छन् “मलाई यो क्षेत्रमा प्रवेश गराउनुमा कृष्णको ठूलो हात छ । उनकै संगतले म आज यहाँ छु । सायद उनी नभएको भए मेरो जिन्दगीको गाडी अन्तै कतै मोडिन्थ्यो होला।”
उनलाई दिदी भिनाजुको पनि उत्तिकै राम्रो प्रेरणा, हौसला र साथ रह्यो । त्यहीँबाट बदलियो विशालको सपना एकाएक । उनी निजामतीको ह्याङओभरबाट बाहिर निस्केर भिडियो इडिटिङतिर लागे । उनले त्यहाँ आफ्नो सपनाको साकार र स्वरुप फरक देख्न थाले । २०७४ सालदेखि आफ्ना सिकाइका अनुभवहरुलाई अझ फराकिलो आकार दिन उनले ‘मङसुङ टेक्नोलोजी’ नामको कम्पनी नै सन्चालन गरे । यात्राका क्रममा हन्डर ठक्कर नपाउने को हुन्छ र ? नपाएका होइनन् उनले पनि । तर, जिन्दगी त्यसले जित्छ, जो लडेर पनि फेरि उठ्न सक्छ। हन्डर, ठक्कर, अभावबाट बिचलित नभएका विशाल आफ्नो बेग्लै परिचयका साथ उभिएका छन् अहिले ।
चर्चित रंग सञ्चारकर्मी प्रकाश सुवेदीलाई युटुब शिल्भर प्ले बटम हस्तान्तरण गर्दै विशाल ।
भिडियो सम्पादन, ग्राफिक्स डिजाईनिङ लगायतमा राम्रो दख्खल राख्ने विशाल चर्चित युटुब च्यानलको ब्यवस्थापक हुन् । देशकै चर्चित युटुब च्यानलहरुको आन्तिरिक तथा बाह्य समस्याहरु उनले सजिलै समाधान गर्छन् । उनले रिसानी माफ, गाह्रो छ, रजतपट लगायत साना ठुला गरि हाल दुई सय भन्दा बढी संख्यामा युटुबको टेक्निकल कामहरु हेर्छन् । युट्युब च्यानलका एनालाइसिस, कपि राइट, एडसेन्समा आएका समस्याहरु सहजै समाधान गर्छन् । यी च्यानलहरुको ब्यवस्थापन गरेवापत विशालले राम्रो आमदामी समेत गरिरहेका छन् ।
युटुबका अलवा डिजिटल मार्केटिङ, भिडियो सम्पादन, मिक्सिङ, भिएफएक्स, ग्राफिक डिजाइनिङ लगायतका विभिन्न खालका सेवाहरु प्रदान गर्छन् विशालले । शहर छिर्दाको ताका जागिरे हुने सपना देखेका विशाल अहिलेको कामबाट सन्तुष्ट छन् ।
प्रस्तुतीः सगिता सुवेदी
प्रतिक्रिया