कोरोना रोकथामका लागि संखुवासभाको प्रयास



अघिल्लो बर्ष भन्दा यस बर्षको कोरोना संक्रमण हानिकारक देखिएको छ । संखुवासभामा अघिल्लो बर्ष मृत्यु हुनेको संख्या शुन्य रहेकोमा यो आलेख तयार पार्दासम्म जिल्लामा मृत्यु हुनेको संख्या ८ पुगिसेको छ भने जिल्लाबाट रेफर भई उपचारको क्रममा मृत्यु हुनेको संख्या ६ रहेको छ ।

अघिल्लो बर्ष निषेधाज्ञ पालना गराउन प्रशासनलाई हम्मेहम्मे जस्तै परेको थियो भने अहिले नागरिकहरु आफै सचेत बनेका छन् । अनावश्यक घर बाहिर निस्केकाका छैनन् । कोरोनाको आक्रमक संक्रमणबाट त्रसित बनेका नागरिकहरु यस पटक सायदै डरकै कारण बाहिर निस्किएका छैनन् । कोरोनाको संक्रमण समेत तिब्र बढिरहदा जिल्लाका दश वटै स्थानीय तहहरुले आफ्नो तयारी र आवश्यक सामग्रीहरुको जाहो गरिरहेका छन् ।

कुन पालिकामा कस्तो छ तयारी ?

जिल्लाको जेठो खाँदबारी नगरपालिकाले कोरोना संक्रमण विरुद्धको तयारीका लागि सवैभन्दा धेरै खर्च गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको खाँदबारी नगरपालिकाले जिल्ला स्पतालसँग साझेदारीमा सय शैयाको आईसोलेसन निर्माण गरेको छ । खाँदबारी नगरपालिका ३ मानेभञ्ज्याङ र वडा नम्बर ९ तुम्लिङटारमा ५०,५० शैयाको आईसोलेसन वार्ड निर्माण गरेको छ ।

उक्त आईसोलेसनमा अहिले संक्रमितहरु भरिभराउ छन् । सिकिस्त भएका संक्रमितहरु उक्त आईसोलेसनमा राखिएको छ भने सामान्य लक्षण मात्र देखिएका संक्रमितहरुलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आईसोलेसनमा राखिएको छ । सामुदायिक आईसोलेसनमा राखिएकाहरुलाई निशुल्क खाना र खाजाको ब्यवस्था समेत गरिएको छ ।

अरुण तेश्रोको पावर हाउस निर्माण क्षेत्र समेत रहेको चिचिला गाउँपालिकामा पनि यस बर्ष कोरोना संक्रमितहरुको संख्या बढ्दो छ । संक्रमण रोक्नका लागि गाउँगाउँमा सचेतानामुलक कार्यक्रमहरु पालिकाले गरेको छ भने बढि संक्रमित रहेको वडा नम्बर २ लाई शिल गरिएको छ । कोरोना संक्रमितहरुको उपचारको लागि अक्सिजन सहितको ८ शैयाको कोभिड अस्पताल निर्माण गरिएको छ ।

त्यसो त जिल्लाका दश वटै स्थानीय तहहरुले कम्तिमा ५ शैयाको कोभिड अस्पताल निर्माण गरेका छन् । जिल्लाको पाँचखपन नगरपालिकाले पनि १० शैयाको कोभिड अस्पताल निर्माण गरेको छ । अक्सिजन कन्सन्ट्रेटर सहितको कोभिड अस्पतालमा चिकित्सक नभएपनि अन्य स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेका छन् । चैनपुर नगरपालिकाले चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको कोभिड अस्पताल निर्माण गरेको छ । उक्त अस्पतालमा एक जना चिकित्सकको नेतृत्वमा उपचार गरिदै आएको छ ।

तुलनात्मक रुपमा कोरोनाको कम प्रभाव देखिएको सिलिचोङ, भोटखोला, सभापोखरी, मादि र धर्मदेवी नगरपालिकाले पनि कोरोना रोकथामका लागि जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको छ । हाट बजार तथा सार्वजनिक स्थलहरुमा हुने जमघट पुर्णरुपमा बन्द गरिएको छ । भने अन्यत्रबाट जिल्ला भित्रिनेहरुको लगत संकलनका लागि मुडे र पिलुवा नाकामा सुरक्षाकर्मी र सम्बन्धीत पालिकाका स्वास्थ्यकर्मीहरु खटाएका छन् । उक्त स्वास्थ्यकर्मीहरुले जिल्ला भित्रएका आफ्ना पालिकाका नागरिकलाई स्वास्थ्य परामर्श तथा सुरक्षा सावधानीको बारेमा प्रशिक्षण गराई घर पठाउने कार्य गर्दै आएका छन् ।

अन्य दाताहरुको सहयोग

संखुवासभामा कोरोना रोकथामका लागि विभिन्न दाताहरुले करोडौ रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउदै आएका छन् । हालसम्म आईसियुको सुविधा नभएको जिल्ला अस्पतालमा तत्काल आईसियु सञ्चालन गर्नका लागि कुनिना गुडीले मासिक ३ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेको छ । स्वास्थ्यकर्मीहरुलाई सेवा सुविधा दिने गरि गुठीका अध्यक्ष पासाङ तेम्बा भोटेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्लामा कोरोना रोकथामका लागि देश भित्रका र बाहिरका संघसंस्थाहरुले औषधी जन्य सामाग्रीहरु सहयोग गर्दै आएका छन् । गोरर्खा वेलफेर ट्रष्ट, संखुवासभा कम्युनिटी अफ युएसए, युनाईटेड वल्र्ड स्कुल नेपाल लगायतका विभिन्न संघ संस्थाहरुले जिल्ला अस्पताल खाँदबारी लगायतका स्वास्थ्य कार्यालयहरुलाई लाखौं मुल्य बराबरको सहयोग गरेका छन् । यी बाहेक अन्य दर्जनौ संघसंस्थाहरुले पनि विभिन्न स्वास्थ्य कार्यालयहरुलाई राहत सामग्री वितरण गरेका हुन् ।

बाडिएन खाद्यन्न राहत

अघिल्लो बर्ष लक डाउन भएको एक महिना नबित्दै स्थानीय तहहरुले नागरिकहरुलाई खाद्यन्न राहत वितरण गरेको थियो । रोजगारि गुमाएका श्रमिकहरुका लागि भन्दै चामल, दाल, नुन, तेल लगायतका खाद्यन्न सामग्रीहरु वितरण गरिएको थियो ।

तर यस बर्षभने छिटफुट बाहेका कुनै पनि पालिकाले खाद्यन्न राहत वितरण गरेको छैन । गत बर्ष पनि पालिकाहरुले लहलहैमा जथाभावी खाद्यन्न बाडिएको आरोप लागेको थियो । यस बर्ष उक्त आरोपको मारमा वास्तविक पिडितहरु परेका छन् । कोहि कसैलाई राहत नबाँडिदा दैनिक ज्यालादारी गरिखाने मजदुरहरुले राहत पाएका थिएनन् ।

जिल्लाको चिचिला गाउँपालिकाले भने संक्रमित भएकाहरुलाई कम्तिमा २ हप्ता होम आईसोलेसनमा बसेकाहरुलाई दैनिक एक किलाग्रामको दरमा चामल र तरकारी उपलब्ध गराएको छ । यस बर्ष चिचिलालाले पनि वास्तविक पिडितहरुको पहिचान गरि राहत वितरण गरेको हो ।

सम्बन्धित समाचार