चिचिलाः वडा नम्बर ४ बन्यो अँध्यारो मुक्त वडा



चिचिला । चिचिला गाउँपालिकाको वडा नम्बर ४ अँध्योरो मुक्त वडा घोषणा गरिएको छ । वडा भित्रका शतप्रतिशत घरमा विद्युतको केन्द्रीय प्रसारण लाईन जोडिएसँगै अँध्यारो मुक्त वडा घोषणा गरिएको हो ।

वडा नम्बर ४ को खालिङ गाउँमा एक कार्यक्रमको आयोजना गरि वडालाई अँध्यारो मुक्त वडा घोषणा गरिएको हो । वडा अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा, उपाध्यक्ष यदुकुमारी राई, कार्यपालिका सदस्य रेवती राई लगायतका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । वडा भित्रका एका घरले ब्यक्तिगत ईच्छाले विद्युत नबालेका बाहेक प्रत्येक घरमा विद्युत जडान भईसकेको विद्युत विस्तार कार्यको नेतृत्व गरिरहनुभएका वडा सदस्य बालकुमार तामाङले जानकारी दिनुभयो । अन्य वडाहरुमा समेत विद्युत जडानको कार्य धमाधम भईरहेकोले यहि आर्थिक बर्ष भित्र नै पालिकानै अँध्यारो मुक्त पालिका बन्ने तामाङले बताउनुभयो ।

यसै विच, वडा नम्बर ४ मा कृषी बजारको उद्घाटन गरिएको छ । हालसम्म कुनै हाट बजार नलाग्ने वडा नम्बर ४ मा कृषी उपज खरिद विक्रिको उद्देश्य राखेर खालिङ गाउँमा बजारको उद्घाटन गरिएको हो । स्थानीय गंगाबहादुर राई र लाक्पा शेर्पाले निशुल्क उपलब्ध गराएको जग्गामा कृषी बजारको उद्घाटन गरिएको हो ।

कोरोना संक्रमण सामान्य भए लगत्तै सुरुमा महिनाको २ दिन पहिलो शुक्रबार र अन्तिम शुक्रबार बजार लगाउने निर्णय गरिएको वडा अध्यक्ष हर्कबहादुर गुरुङले जानकारी दिनुभयो । पछि बजारको अवस्था हेरेर साप्ताहिक रुपमा लगाईने उहाँले बताउनुभयो । कृषकहरुलाई तरकारी उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यका साथ बजारको अवधारणा ल्याईएको हो । कृषी उपज उक्त बजार विक्रि गरिने र विक्रि नभएको सामग्रीहरु संकलन गरेर नजिकैको बजारमा विक्रि गर्न लगिने अध्यक्ष गुरुङले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले ब्यवसायीक रुपमा तरकारी उत्पादनमा लाग्न कृषकहरुलाई आग्रह गर्नुभयो । उत्पादित तरकारीहरु स्थानीय स्तरमा नै विक्रि नभए नजिकैको बजारसम्म पुर्याउन ढुवानीमा पालिकाले अनुदान दिने अध्यक्ष शेर्पाले प्रतिबद्धता जनाउनुभयो । तर थोरै परिमाणमा मात्र उत्पादन भए ढुवानीमा अनुदान दिन नसकिने अध्यक्ष शेर्पाको भनाई थियो । कम्तिमा एक गाडी तरकारी हुनुपर्यो, खाँदबारी बजारसम्म पुर्याउन पालिकाले ढुवानी गरिदिन्छ, अध्यक्ष शेर्पाले भन्नुभयो थोरै तरकारीमा ढुवानी दिन थाले उपलब्धी विहिन खर्च बढ्छ ।

बजार उद्घाटनको अवसरमा नजिकैका कृषकहरुले प्रतिकात्मक रुपमा कृषीजन्य उपज खरिद विक्रि गरेका छन् । उक्त कृषकहरुलाई कार्यक्रम आयोजकले प्रोत्साहनका लागि कदर पत्र प्रदान गरेका छन् । कार्यक्रमको अवसरमा जग्गादाताहरु गंगाबहादुर राई र लाक्पा शेर्पालाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार