काठ्माण्डौ । छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गोली हानी हत्या गरेका छन् । कपिलवस्तु कृष्णनगर नगरपालिका १० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विजयनगर गाउँपालिका(१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कपिलवस्तु नगरपालिका १० नेपाल भारत सिमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । २०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी हत्या गरिएको थियो। हत्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरासत लिइएको भण्डारीले बताए । पुरी वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न थिए ।
कुर्मीका छोरालाई विदेश पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए । बहराइन पठाएकोमा राम्रो कम्पनी र तलब नपाएको भन्दै कुर्मीले पैसा फिर्ता माग्न थाले । भण्डारीका अनुसार पटक पटक पैसा नपाएपछि उनलाई कुर्मीले मार्ने योजना बनाए । यसमा कुर्मीसहित तीन जना व्यक्ति प्रतिवादी छन्। उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर हत्याको योजना बनाएका थिए ।
त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा आएर पुरीको घर पुगेका थिए । उनीसँग वादविवाद गर्दै पैसा फिर्ता मागेका थिए । तर, पुरीले पैसा नदिएपछि कटुवा पेस्तोलबाट गोली हानी हत्या गरेको भण्डारीले बताए । गोली हानेपछि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए। गाउँलेलाई लक्षित गरी उनीहरूले विस्फोटक पदार्थ पड्काएर मोटरसाइकल चढेर भागेको भण्डारीले बताए । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। कुर्मीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको भण्डारीले बताए ।
प्रतिक्रिया