छानबिन समितिले प्रतिवेदन दिएपछि मात्रै सरकारले दार्चुला घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाबारे संसद्मा जानकारी दिए पनि सरकारको औपचारिक धारणा भने छानबिन समितिको प्रतिवेदनपछि मात्रै दिने बताएका छन् ।
घटनाबारे भारतसँग राजनीतिक र कूटनीतिक तहमा संवाद नगरेकोमा पनि सरकारको आलोचना भएको छ । तर, राष्ट्रिय सभाको सोमबारको बैठकमा गृहमन्त्रीले प्रतिवेदन आइसकेपछि मात्रै धारणा सार्वजनिक गर्ने भन्दै त्यतिन्जेल पर्खन आग्रह गरे । पीडित परिवारले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेको छ ।
गृहमन्त्री खाणले संसद्लाई दार्चुला घटनाको छानबिन गर्न गृहसहसचिवको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिए । २७ साउनमा प्रतिवेदन बुझाउने गरी गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । समितिले आइतबारबाटै काम थालेको छ ।
नेपाल प्रहरी मात्रै होइन, भारतीय प्रहरीले पनि जयसिंह धामीको खोजी गरिरहेको गृहमन्त्री खाणले बताए । ‘नेपालको सुरक्षा निकायले उहाँको खोजी कार्य गरिरहेको छ । भारतीय सुरक्षाकर्मीलाई पनि खोज्न आग्रह गरिएको छ । उहाँहरूले खोजिरहनुभएको छ,’ उनले सदनमा भने ।
घटनाबारे राय दिँदा छानबिन प्रभावित हुने गृहमन्त्री खाणको दाबी छ । ‘आमनेपाली नागरिकले आफ्ना विचार व्यक्त गर्ने, ती विचारलाई हामीले गम्भीरतापूर्वक लिनुपर्ने, जनप्रतिनिधिले पनि आफ्ना विचार, सूचना, धारणा प्रस्तुत गर्ने र त्यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ, लिन्छौँ । तर, हामी आफैँले छानबिन समिति बनाइरहेको अवस्थामा त्यसलाई प्रभाव पार्ने गरी आफ्नो राय दिन मिल्दैन,’ गृहमन्त्री खाणले भने, ‘छानबिनबाट घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यसमा उल्लेख भएका जुनसुकै अडान लिन पनि तयार छौँ । र, त्यसका लागि आवश्यक पहल गर्न, धारणा सार्वजनिक गरी अगाडि बढ्न गृह मन्त्रालय र नेपाल सरकार प्रतिबद्ध रहेको अवगत गराउन चाहन्छु ।’
समसामयिक घटनाको जानकारी दिने भन्दै गृहमन्त्री खाण बैठकको सुरुमै रोस्ट्रम पुगेका थिए । घटनाबारे बताएपछि उनलाई सांसदले प्रश्न सोधेका थिए । घटनाप्रति सरकार जिम्मेवार नदेखिएको भन्दै विपक्षी दल एमालेका सांसद गृहमन्त्रीमाथि खनिएका थिए ।
सांसद शेरबहादुर कुँवरले कूटनीतिक पहलबाट उक्त विषय उठाउन सरकारसँग आग्रह गरे । ‘जयसिंह धामीको ‘हत्या’ नै भन्छु म । किनकि एसएसबीका जवानले तुइन काटे, त्यसपछि जुन घटना घट्यो त्यो जघन्य अपराध हो । त्यो अन्तर्राष्ट्रिय कानुन, सन्धिको विरुद्धमा छ, यो अमानवीय छ,’ उनले भने, ‘त्यसकारण सरकारलाई आग्रह गर्छु– उच्चस्तरीय कूटनीतिक सम्बन्ध स्थापित गरी कूटनीतिक पहलबाट कडा ढंगले उठाइयोस् । र, उक्त दुर्घटनामा मारिएका धामीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरियोस् ।’
भारतसँग सरकारले छलफल नगरेकोमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठको पनि आपत्ति थियो । प्रत्यक्षदर्शीहरूबाट सत्यतथ्य कुरा आउँदा पनि सरकारले कदम नचालेको उनको आरोप थियो । उनले प्रश्न गरे, ‘भारतीय एसएसबीका जवानबाट तुइनको लट्ठा काटिएको छ, त्यसपछि उहाँको देहावसान भएको छ धामीसँगै गएका थुप्रै प्रत्यक्षदर्शीहरूका अनुसार भन्ने सत्यतथ्य आउँदा–आउँदै पनि सरकार यसबारे भारतसँग कुरा गर्न किन डराइरहेको छ ? किन चाहिरहेको छैन ?’
बैठकमा गृहमन्त्रीको प्रस्तुतिमाथि पनि प्रश्न उठ्यो । एमाले सांसद भगवती न्यौपानेले गृहमन्त्री अत्यन्तै हल्का र गैरजिम्मेवार देखिएको टिप्पणी गरिन् । नेपाल सरकारले घटनाबारे भारत सरकारलाई प्रश्न सोध्ने आँट नगरेको न्यौपानेको भनाइ थियो । ‘महाकाली तर्ने क्रममा एउटा युवाको नदीमा बगेर बेपत्ता भएको खबरले आज देश स्तब्ध भएको छ । जनतालाई दुखेको छ । तर, माननीय गृहमन्त्रीज्यूको प्रस्तुति अत्यन्तै हल्का र गैरजिम्मेवार महसुस भएको छ । प्रत्यक्षदर्शीले एसएसबीका कारण तुइन काटिएको हो भनेर भनिसकेपछि पनि किन नेपाल सरकारले भारत सरकारलाई सोध्ने आँट गरेन ?’ उनले गृहमन्त्रीको ध्यानाकर्षण गराइन् ।
एमाले सांसद इन्दु कडरियाले घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग आग्रह गरेकी थिइन् । ‘दार्चुला घटना अमानवीय हो । यो घटनामा जयसिंह धामीले आफ्नो ज्यान गुमाए,’ उनले भनिन्, ‘भारतीय एसएसबीले तुइन काटेर उनको ज्यान गयो भनेर देख्ने प्रत्यक्षदर्शी हुँदाहुँदै पनि पिथौरागढका अधिकारीले दार्चुलाका सिडिओलाई पत्र पठाएर यसमा भारतीय एसएसबीको संलग्नता छैन भनेका छन् । यो विषयमा छानबिन कसरी हुन्छ ? जनताले देख्दादेख्दै पनि एसएसबीले यो नगरेको हो ? यसको सत्यतथ्य छानबिन होस् र यस्ता घटना नदोहोरिऊन् ।’
एमालेका अर्का सांसद चक्रप्रसाद स्नेहीले भारत सरकारसँग वार्ता गर्न नसक्नुको कारण सोधेका थिए । ‘सरकारले किन गृह मन्त्रालयमार्फत अहिलेसम्म भारतसँग वार्ता गर्न सकेन ? चार दिन भइसक्यो,’ उनको जिज्ञासा थियो । सांसदहरूको जिज्ञासामा गृहमन्त्री खाणले एकमुस्ट जवाफ दिएका थिए । प्रतिवेदन आइसकेपछि मात्रै राय दिन सकिने उनको भनाइ थियो ।


प्रतिक्रिया