विराटनगर । नेपाल भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा कल्भर्ट निर्माण गर्न भारतीय पक्षले अवरोध गरिरहेको छ । वडाध्यक्ष सीमर कामरका अनुसार दुई साताभन्दा अघिदेखि दादागिरी शैलीमा रोक लगाएर भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले काम अघि बढ्न दिएको छैन ।
‘महानगरपालिकाको १६ लाख रूपैयाँ बजेटमार्फत कल्भर्ट निर्माणको काम थालिएको थियो,’ उनले भने, ‘दुई देशीय सीमा छुट्याउने दसगजाबाट पाँच फिट यतैपट्टि नेपालतर्फ थालिएको काम भारतीय अवरोधका कारण रोकिएको छ ।’
उनका अनुसार भारतीय पक्षले भने यसअघि नै आफ्नोतिर ड्याम उठाएर तीनवटा कल्भर्ट निर्माण गरिसकेको छ । जसका कारण भारतीय बजार जोगबनीबाट दसगजा हुँदै बगेर आउने पानी जगलमग्न भएर इस्लामपुर क्षेत्र डुबानमा परिरहेको गुनासो सीमा क्षेत्रका बासिन्दाको छ । उनीहरुका अनुसार बर्खाका समयमा उताको पानी आएर डुबानमा परिरहेको नेपाली भूभाग जोगाउन पनि कल्भर्ट निर्माण गर्नैपर्ने अवस्था छ । तर एसएसबीबाट रोकावट भएपछि सय मिटर नाला निर्माण सकेर पानी निकासका लागि थालिएको कल्भर्टको काम अलपत्र परेको वडाध्यक्ष कमरको भनाइ छ ।
‘काममा अवरोध नगर्न आग्रह गर्दा कल्भर्ट बनाउनुअघि हामीलाई किन नसोधेको भनेर भारतीय पक्षले प्रश्न गर्ने गरेको छ । हाम्रो जमिनमा विकास निर्माण गर्दा उनीहरुलाई किन सोध्नु रु,’ उनले भने, ‘दादागिरी शैली देखाएर भारतले साह्रै हेपिरहेको छ । जेसुकैमा पनि भारतले हैकमवादी प्रवृत्ति देखाउँदा सीमा क्षेत्रमा बसोबास गरिरहेका नेपाली जनता ठूलो मारमा परिरहेका छन् ।’
खनिसकेको ठाउँमा कल्भर्ट नबन्दा सर्वसाधारणलाई आवतजावतमै समस्या भइरहेको जानकारी कमरले दिए । ‘नाला बनेको छ । कल्भर्ट बनाउन बाटो खनियो,’ उनले भने, ‘तर बनाउनलाई अवरोध गरेर एसएसबीले नियमित निगरानी गरिरहेको छ । कल्भर्ट नहुँदा हिँडडुल र सवारी साधन सञ्चालनमा समस्या भयो ।’ उनका अनुसार कल्भर्टका लागि बाटो खनिएपछि इस्लामपुरबाट अर्को ठाउँमा पुग्नसक्ने अवस्था पनि छैन । एम्बुलेन्स लगायत अति आवश्यकीय सवारी साधन पनि सञ्चालन हुन पाएका छैनन् ।
यस विषयमा सरकारी संयन्त्रले चासो नदिएको र पहल नगरेको स्थानीय महम्मद जुनेरको गुनासो छ । ‘भारततिरबाट पानीलगायत फोहोरसमेत दसगजा हुँदै नेपालको भू–भागमा आइरहेको छ,’ उनले भने, ‘त्यसबाट बच्न कल्भर्ट बनाउन खोज्दा रोक लगाइयो ।’
जुनेरका अनुसार आफ्नो भूमिबाट सिधै नेपालतिर पानी आउने गरी संरचना बनाएको भारतले इस्लामपुरमा भने निकासका लागि पनि कल्भर्ट निर्माण गर्न दिइरहेको छैन । भारतीय पक्षले फोहोर पनि दसगजा र नेपाली भूभागतिर फ्याल्ने गरेको गुनासो उनको छ । ‘पानी पर्दा सधैँ डुबानको समस्या भोगिरहेका हामी नाला र कल्भर्ट बन्ने भएपछि खुसी थियौँ,’ उनले भने, ‘निर्माणमा अवरोध गरिँदा अत्यावश्यक सवारीसाधन पनि आवतजावत गर्न पाएका छैनन् ।’
वडाध्यक्ष कमरका अनुसार भारतीय भूमिबाट जम्मा भएर आउने पानीले बर्खाका समयमा इस्लामपुर क्षेत्रका एक सयभन्दा बढी घर प्रभावित हुन्छन् । डुबानको सास्तीबाट मुक्ति खोज्दै नेपाली भूमिमै पानी बग्ने गरी कल्भर्ट बनाउन खोजिए पनि भारतीय पक्ष बाधक बनेको उनको भनाइ छ । ‘एसएसबीले बन्दुक नै तेस्र्याएर अपशब्द प्रयोग गर्दै धम्क्याएर काम अघि बढ्न दिएनन्,’ कमर भन्छन्, ‘नेपाली भूमिको पानी पठाएर भारतीय भूमि र बस्ती डुबानमा पार्न खोजिएको उनीहरुको आरोप छ ।’
तर कल्भर्ट निर्माणले भारतीय पक्षलाई कुनै पनि असर नगर्ने र नेपालकै पैनी हुँदै पानी निकास भएर नदीमा मिसिने उनले बताए । भारतीय पक्षलाई बारम्बार सम्झाउँदा नमानेपछि इँटाको गाह्रो उठाएर थालिएको काम अहिले त्यत्तिकै अलपत्र र अधकल्चो अवस्थामा रहेको उनको भनाइ छ ।
भारतले दसगजा छेउमा नाला निर्माण गरिदिँदा जोगवनीतिरबाट आउने पानीले इस्लामपुर, मटेरुवा, राइस मिल, रामसेवीसमेतका स्थान डुबानमा पर्ने र जलमग्न हुने गरेको गुनासो स्थानीयको छ । भारतको दादागिरी शैली तत्काल बन्द गर्नुपर्ने र आफ्नो भूमिमा भइरहेको काममा कुनै अवरोध नहुने वातावरण बनाउनुपर्ने माग उनीहरुको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले दुई साताअघि कल्भर्ट निर्माणस्थलको निरीक्षण गरेका थिए । ‘समस्या समाधानका लागि पहल गर्ने प्रजिअको आश्वासनपछि हामी पनि काम रोक्यौँ,’ वडाध्यक्ष कमरले भने, ‘तर अहिलेसम्म पहल भयो कि भएको छैनभन्ने थाहा पाएनौँ । काम अघि बढाउन भने पाएका छैनौँ ।’
प्रजिअ निरौलाले अन्तर्राष्ट्रिय नियमअनुसार नेपालको भूमिमा बन्दै गरेको कल्भर्टमा भारतीय पक्षले अवरोध गरेको बताए । ‘यस विषयमा भारतीय पक्षसँग कुरा राखेका छौँ । दुई देशीय संयुक्त कमिटीको बैठकमा पनि कुरा उठाउँछौं,’ उनले भने, ‘आफ्नो भूमि डुबानमा पर्नेभन्दै भारतीय पक्षले काम गर्न नदिएको पाइयो । तर कल्भर्ट बन्दा भारतीय भूभागमा कुनै पनि असर गर्दैन ।’
निरौलाले नेपाली भूमि डुबानमै पर्ने गरी यसअघि भारतले कल्भर्ट बनाएको पनि बताए । ‘उनीहरुले काम गर्दा थाहा पाइएन । प्रशासनलाई पनि कतैबाट जानकारी आएन,’ उनले भने, ‘त्यतिबेलै उनीहरुको काम पनि रोक्नुपर्ने थियो । दुई देशीय सीमा क्षेत्रको समस्या समाधानका लागि पहल भइरहेको छ ।’


प्रतिक्रिया