दुई महिना अघि मानेभञ्ज्याङ आईसोलेसनमा योगा गराईएको दृश्य । तस्विरः ईमकालु
खाँदबारी । पछिल्लो समय खाँदबारी अस्पताल र खाँदबारी नगरपालिकाले खाँदबारी ३ मानेभञ्ज्याङमा राखेको आईसोलेसन ‘हटाईएको’ भनेर टिकाटिप्पणी भईरहेको छ । यस विषयलाई लिएर सामाजिक सञ्जालदेखि चिया पसलसम्म चर्चाको विषय बन्दै आएको छ ।
यस विषयमा खाँदबारी अस्पतालले भने आईसोलेसन हटाईएको नभई स्थगन गरिएको जनाएको छ । आईसोलेसनमा बस्ने संक्रमितहरुको संख्या कम रहेको र चिकित्सक सहितको स्वास्थ्यकर्मीको अभावका कारण मानेभञ्ज्याङ आईसोलेसनबाट सेवा दिन रोकिएको अस्पताल प्रशासनले जनाएको छ । ईमकालुसँग कुरा गर्दै अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले भने, ‘अहिले अठार जना मात्र आईसोलेसनमा छन्, उनीहरुलाई तुम्लिङटारको आईसोलेसन नै काफी छ, त्यसैले मानेभञ्ज्याङको सेवा स्थकित गरेका हौं ।’
जिल्ला अस्पताल खाँदबारीले तुम्लिङटारमा २ र मानेभञ्ज्याङमा १ गरि करिव डेढ सय क्षमताको तीन वटा आईसोलेसन निर्माण गरेको थियो । उक्त आईसोलेसनमा चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुले सेवा दिदै आएका थिए । अहिले अस्पतालमा नियमित चेक जाँच तथा उपचार सेवा सुचारु गरिएकोले पनि स्वास्थ्यकर्मीको अभाव भएको श्रेष्ठले बताए । संक्रमितको संख्या बढेमा फेरी त्यहि ठाउँबाट सेवा दिईने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया