काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिने तयारी गरिरहेको बेला शिक्षकहरु पक्राउ परेका छन् ।शुक्रबार प्रधानमन्त्री निवासमा धर्ना कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रहरीले पक्राउ गरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भेला भई १० बजेदेखि १ बजेसम्म धर्ना दिने उनीहरुको कार्यक्रम थियो । आन्दोलित शिक्षकहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कमलपोखरीस्थित प्रहरी कार्यालयमा राखिएको महासचिव सुवेदीले जानकारी गराए ।उनले भने, ‘अहिले हामी यहाँ सय जना शिक्षक प्रहरीको नियन्त्रणमा छौं । अन्य विभिन्न स्थानमा साथीहरुलाई प्रहरीले नियत्रणमा लिएको जानकारी प्राप्त भएको छ ।’
गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ३० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने लगायतका १४ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले गत बैशाखदेखि चरणबद्घ आन्दोलन गर्दै आएको छ ।


प्रतिक्रिया