खाँदबारी नगरपालिकाद्धारा गत आव २०७७/०७८ को प्रगति समीक्षा सार्वजनिक


३२ श्रावण २०७८, सोमबार


खाँदबारी नगरपालिकाले गत आ व २०७७/०७८ को वार्षिक प्रगति समीक्षा सार्वजनिक गरेको छ । नगरले आईतबार एक कार्यक्रमको आयोजना गरेर वार्षिक प्रगतिको समीक्षा सार्वजनिक गरेको हो । उक्त सार्वजनिक कार्यक्रममा नगरपालिकाले २०७७/०७८ मा आयोजना गरेको कार्यक्रम, कार्यन्वयन भएका कार्यक्रम, बजेट , खर्च लगायतका विषयहरु सार्वजनिक गरेको थियो ।

नगरले शाखागत रुपमा वार्षिक उपलब्धी र प्रगति सार्वजनिक गरेको छ । गत आ व मा प्राप्त ७८ करोड ५७ लाख ७० हजार ५ सय रुपैँया बजेट मध्ये संघ समानीकरण अनुदान तर्फ ७५ प्रतिशत, संघ सशर्ततर्फ ८९, संघ समपुरक अनुदानतर्फ ९१, संघ राजश्व बाँडफाँड तर्फ ८१, प्रदेश समानीकरण अनुदानतर्फ ५४, प्रदेश सशर्त अनुदानतर्फ ७४, प्रदेश समपुरक अनुदानतर्फ ४८, प्रदेश राजश्व बाँडफाँडतर्फ ७०, आन्तरिक आम्दानी तर्फ ७८ र सडक बोर्ड तर्फ ५५ प्रतिशत भएको खर्चको विवरण सार्वजनिक कार्यक्रम मार्फत प्रस्तुत गरेको थियो । नगरले बार्षिक बजेट मध्ये चालू तर्फ ३० र पुँजीगत तर्फ ७० प्रतिशत खर्च भएको जनाइएको छ ।

त्यस्तै खाँदबारी नगरपालिकाले ११ वटै वडा र विभिन्न शाखा अन्तर्गत विनियोजन वजेटको ८१ प्रतिशत रकम खर्च भएको उक्त कार्यक्रम मार्फत खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेखरबाबु कार्कीले जानकारी दिनुभयो । जसमध्ये सवैभन्दा बढी वडा न १० मा ९८.९७ प्रतिशत र सवैभन्दा कम वडा न. ३ मा ८९.०८ प्रतिशत रकम खर्च भएको जनाइएको छ ।

खाँदबारी नगरपालिकाभित्र सञ्चालन भएको ७४७ वटा आयोजनामध्ये नगरस्तरीय २२७, वडास्तरीय २२९, मर्मत संभार कोषबाट १५३, संघ सरकारबाट ३६ र प्रदेश सरकारबाट २ वटा रहेको थियो । नगरले गत आ। व मा गरेका प्रमुख उपलब्धी वडागत उपलब्धी र कार्यन्वयनका समस्याहरुलाई समेत औल्याएर प्रगति समीक्षा सार्वजनिक गरेको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले बताउनुभयो ।

कार्यक्रमको समयमा बोल्दै उहाँले आफु निर्वाचित भएर काम गरिरहँदा मेहनतपूर्वक गरेको र गर्दै आएका कामहरुको प्रभाव, प्रतिफल आगामी दिनमा देखिदै जाने बताउनुभयो ।

सम्बन्धित समाचार