संखुवासभा तमू समाजको पहलमा चार बालबालिकालाई सहयोग


३२ श्रावण २०७८, सोमबार


संखुवासभा तमू समाजको पहलमा चार बालबालिकालाई उद्दार सहित सहयोग गरेको छ । कोरोना महामारीका कारण आर्थिक समस्यामा परेका संखुवासभाको सभापोखरी गाउँपालिकाका सावित्रा घले गुरुङको ४ जना नानीहरुलाई समाजले सहयोग गरेको हो । समाजले अश्विन, सोनिता, स्वस्तिका र आशिषलाई सहयोग गरेको जनाएको छ ।

हाल काठमामाडौंको बनस्थलीमा बस्दै आएका गुरुङको परिवारमा आर्थिक समस्या देखेपछि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरुङ र राजनीतिज्ञ आङ्काजी शेर्पाले समाजमा खबर गरेका थिए । सूचना प्राप्त भएलगत्तै समाजले सहयोगको लागि पहल थालेको थियो ।

परिषदका केन्द्रीय अध्यक्ष गुरुङले तत्कालका लागि खाद्यन्न लगायतका सामग्रीहरु उपलब्ध गराएका छन् ।
समाजका अध्यक्ष बाबुराम गुरुङका अनुसार आश्विन घलेलाई साङ रिम्पोछे ज्ये ल्हुण्डुप क्षोलिङ गुम्बाले अध्ययन तथा बसोबासको व्यवस्था सहित संरक्षण गर्नेछ भने सोनिता घलेलाई मुस्कान सेवा नेपालले संरक्षण दिनेछ ।

त्यसैगरी स्वस्तिका घलेलाई जनजाग्रिती उच्च माध्यमिक विद्यालयले कक्षा ६ देखि कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक मन्दिरा खनालले प्रतिवद्धता जनाएका छन् भने आशिष घलेलाई संखुवासभा तमू समाजले अध्ययनका लागि खर्च व्यहोर्ने जनाएको छ । मजदुरी काम गरेर गुजारा गरिरहेका घलेका ५ जनाको परिवार रहेको छ ।

सम्बन्धित समाचार