दुर्घटनामा मृत्यु भएका विराटनगरका पुरुषको शव बुझ्न अस्वीकार



रंगेली–विराटनगर सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका–७ मा ट्रकको ठक्करबाट बिहीबार राति ५५ वर्षीय जनक बस्नेतको मृत्यु भएको थियो । पूर्वबाट उत्तरतर्फ मोडिदै गरेको ना ७ ख ३१३ नम्बरको ट्रकको ठक्करबाट विराटनगर–७ का बस्नेतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

दिउँसो २ बजेतिर भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा राति ९ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक काभ्रे घर भएका २८ वर्षीय दीपक श्रेष्ठलाई नियन्त्रणमा लिइसकेको छ ।

ट्रकको ठक्करबाट देव्रे खुट्टा भाँचिएका बस्नेतको उपचारमा लापरबाही गरिएको भन्दै परिवारका सदस्य र आफन्तले मृतकको शव बुझ्न मानिरहेका छैनन् । शव अहिले गोल्डेन अस्पतालमै छ । घाइतेलाई आवश्यक पर्ने रगत डाक्टरले ढिलो मागेको र उपचारमा लापरबाही गरिएको भन्दै शव बुझ्न आफन्त र परिवारका सदस्यले नमानेका हुन् । उनीहरुले राति अस्पतालमा केही बेर होहल्ला पनि गरेका थिए ।

गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले चिकित्सकले समयमै रगत मागेको भए पनि ढिलो ल्याइएका कारण घाइतेलाई बचाउन नसकिएको बताए । उनले उपचारमा कुनै लापरबाही नभएको दाबी गरे ।

‘दुर्घटनामा परेर घाइते भएका बस्नेतको खुट्टाबाट अत्याधिक रक्तश्राव भएर अवस्था गम्भीर बनेपछि दिउँसो ४ बजेतिर थप उपचारका लागि आईसीयूमा भर्ना गरियो,’ मेहताले भने, ‘त्यसपछि चिकित्सकले तत्काल रगतको व्यवस्था गर्नुपर्ने भनेका थिए ।’ तर रगत साँझ ७ः३० बजेतिर मात्रै प्राप्त भएकाले घाइतेलाई बचाउन नसकिएको उनको भनाइ छ ।

आवश्यक पर्ने रगत ल्याउनै तीन घण्टा ढिलो भएपछि शरीरमा रगतको मात्रा कम भएर घाइतेको मृत्यु भएको अस्पतालको दाबी छ ।

सम्बन्धित समाचार