काठमाडौं । नेकपा एमालेबाट विभाजित एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिक त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भएका छन् ।
निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन मौखिक आग्रह गरिसकेको स्रोतले जनाएको छ ।
आयोगका एक पदाधिकारीले भने, ‘उहाँहरुलाई आयोगको तर्फबाट यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले पनि मिल्दैन र फागुन २३ को सर्वोच्चको फैसलाले पनि मिल्दैन भनेर अर्को नाम लिएर आउन भनिसकेका छौं ।’
नेपाल प्रेसले राजनीतिक दल सम्बन्धी अध्यादेश आएर दुवै दल दर्तामा जानुभन्दा अघि नै एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन नसक्ने आधारसहितको समाचार प्रकाशन गरेको थियो । आयोगका एक उच्च अधिकारीका अनुसार नेकपा एमाले ९समाजवादी० को साटो अर्को नाम लिएर आउन राजेन्द्र पाण्डेलाई सूचित गरिसकिएको छ ।
त्यस्तै जसपाका नेताहरुलाई पनि अर्को नाम ल्याउन भनिएको छ । आयोगमा यसअघि गत बुधवार दल दर्ताका लागि दिएको निवेदन यथावत रहे पनि संशोधित नियमावली अनुसार अनुसूची भर्नका लागि अनुसूची फारम आज दुवै पक्षलाई उपलब्ध गराइने आयोग स्रोतले जनाएको छ । उनीहरु अनुसूची भरेपछि दल दर्ता प्रक्रिया अघि बढ्नेछ ।
प्रतिक्रिया