टाइगर चोकमा बाघको प्रतिमा


१० भाद्र २०७८, बिहिबार


पाँचखपन । संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. २ को टाइगर चोकमा बाघको मुर्ति निर्माण सम्पन्न भएको छ । पाँचखपन नगरपालिकाको आव २०७७/०७८ बाट विनियोजित ५ लाख रुपैंयाले बाघको प्रतिमा निर्माण गरिएको हो । जोडी बाघको प्रतिमा निर्माण गरिएकोमा एक ओटा फाइबरबाट निर्मित रहेको छ ।

टाइगरचोक बाघको मुर्ति स्थापना तथा रेलिङ निर्माण समिति मार्फत संखुवासभा कै धर्मदेवी नगरपालिकाका चन्द्र बहादुर याख्खाले सो मुर्ति निर्माण गरेको वडाध्यक्ष उक्तम दाहालले बताए ।

बाघले स्थानीयका घरपालुवा वस्तुहरु मार्ने र खाइदिने गरेर अत्यन्त दुख दिएपछी स्थानीय राई जातीका वैदाङहरुले उक्त स्थानमा बाघ मार्नलाई खोर निर्माण गरेका थिए । बाघ खोर नामले परिचित उक्त स्थानलाई पछिल्लो समय स्वर्गिय नगेन्द्र दाहालले टाइगर चोक नामाकरण गरेका थिए ।

अहिले टाइगर चोक वरीपरी सडक ढलान समेत गरिएको छ । शहरी विकास मन्त्रालयद्धारा विनियोजित ४० लाख रुपैंयाले टाइगर चोक ढलान गरिएको अध्यक्ष दाहालले बताए । टाइगर चोक ढलान उपभोक्ता समिति मार्फत सडक ढलान गरिएपछी मुर्तिसंगै टाइगर चोकको समेत शोभा बढेको छ, अध्यक्ष दाहालले भने ।

सम्बन्धित समाचार