के हो आईपीओ, एफपीओ र हकप्रद शेयर ?



पछिल्लो समय शेयर बजारको चर्चा चुलिएको छ । चर्चा मात्र होईन शेयर बजारमा लगानी कर्ताहरु पनि ह्वात्तै बढेको छ । गएको एक बर्ष यता डिम्याट खाता खोल्नेहरुको संख्या समेत हजार प्रतिशत भन्दा बढीले बढेको छ । पहिलो पटक शेयर बजार सुनेकाहरुले समेत अहिले अरु कसैले भनेकै भरमा आईपिओ भर्दै आएका छन् । अर्थात शेयर बजारका आधारभुत ज्ञान समेत नभएका ब्यक्तिहरुले समेत शेयर बजारमा लगानी गर्दै आएका छन् । त्यस्ता नव प्रवेशीहरुका लागि प्राथमिक शेयर बजार अन्तर्गतका लगानीका माध्यमहरु मध्ये आईपिओ, एफपिओ र हकप्रद शेयरको बारेमा यहाँ जानकारी प्रस्तुत गरिएको छ ।

आईपीओ

कम्पनीले पहिलो पटक सर्वसाधारणका लागि जारी गरेको शेयरलाई प्राथमिक शेयर निस्काशन भनिन्छ । जसलाई साधारण बोलिचालिको भाषामा आईपीओ (IPO) भनिन्छ । जसको पुरा अंग्रेजी रुप Initial Public Offering हो । कुनै पनि कम्पनी पब्लिकमा गईसकेपछि अनिवार्य रुपमा सर्बसाधारणका लागि निश्चित प्रतिशत शेयर जारी गर्नुपर्छ । सामान्यतया कम्पनीले प्रतिकिता १०० रुपैयाँका दरले साधारण शेयर जारी गर्ने गर्दछ ।

जलविद्युत कम्पनीले भने आयोजना प्रभावित तथा स्थानीय जनताका लागि साधारण शेयर तर्फको ३० प्रतिशत छुट्टै आईपीओ पनि जारी गर्नुपर्छ । जुन आईपीओलाई दोस्रो बजारमा खरिद बिक्री गर्दा लकिङ पेरियड प्रणाली लागु हुन्छ । अर्थात नेप्सेमा सुचीकृत भएको ३ बर्ष सम्म बिक्रि गर्न पाईदैन ।

नेपाली शेयर बजारमा अहिले नेप्से बुलिसमा रहेका कारण पछिल्लो डेढ बर्ष यता कुनै पनि आईपीमा लगानी गर्नेले घाटा बेहोर्नु परेको छैन । बरु अहिले आईपीओ जारी गरेको महिला लघुविद्युत र जीवन विकास लघुवित जस्ता माईक्रो फाईनान्सको शेयर मूल्य ४ देखि ५ हजार रुपैयाँ भन्दा माथि कारोबार भईरहेको छ । अर्थात १० कित्ता आईपीओ पाउनेले ४० देखि ५० हजार रुपैयाँ सम्ममा बेचिरहेका छन् ।

तर भर्खरै आईपीओ भर्न शुरु गरेका वा तयारी गरिरहेकाहरुलाई आईपीओले सधै नाफा गर्छ भन्नु गलत हो । यसअघिको बियरिसमा आईपीओ जारी गरेका दर्जनौ जलविद्युत कम्पनीहरुको मूल्य दोश्रो बजारमा कारोबार गर्दा रु. १०० मुनि पनि बेच्नुपरेको थियो । भने कतिपय कम्पनीले जारी गरेको आईपीओ विक्रि नै पनि हुन सकेको थिएन ।

अहिले आईपीओ भर्नेका लागि डिम्याट खाता खोल्नेको संख्या ४० लाख भन्दा बढी रहेको रहेको छ । त्यसमध्ये झण्डै २४ लाख हाराहारीको संख्यामा आईपीओ भर्ने काम भईरहेको छ । जबकी ठिक १ बर्ष पहिले २ लाख जना जतिले मात्रै आईपीओ भर्ने गरेका थिए । यसरी हेर्दा आईपीओ प्रति आकर्षितको संख्या १ बर्षमा १२ सय प्रतिशतले बृद्दि भएको छ ।

हाल कम्पनीले जारी गर्ने जुनै आईपीओमा आवेदन बढी पर्ने हुनाले १० कित्ताका दरले गोलाप्रथाबाट वितरण गरिन्छ । आईपीओमा आवेदन मिति सकिएको हप्ता १० दिन भित्रै कम्पनीले नियुक्ति गरेको आईपीओ ईस्यू म्यानेजर कम्पनीले रिजल्ट सार्वजनिक गर्छ । र उक्त नेप्सेमा सूचीकृत भएको भोलिपल्टै देखि किन बेच गर्न सकिन्छ । त्यसबेला शेयरको मूल्य कम्पनीको नेटवर्थको ३ गुणा सम्ममा किनबेच हुन सक्छ ।

कम्पनीले साधारण शेयर जारी गर्नुअघि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ । साथै ईक्रा नेपालबाट कम्पनीको रेटिङ पनि गराउनुपर्छ । जसले कम्पनीमा लगानी गर्न कतिको जोखिम छ ? भन्ने कुराको जानकारी गराउँछ । यसरी वितीय अवस्था हेरेर उतm आईपीओमा लगानी गर्ने वा नगर्ने ? भन्ने कुराको छिनोफानो गर्न सकिन्छ ।

एफपीओ

कम्पनीले पहिलो पटक सर्बसाधारणका लागि जारी गरेको शेयरलाई आईपीओ भनिन्छ भने फेरि पनि सोही कम्पनीले सर्बसाधारणका लागि शेयर जारी गर्छ भने त्यसलाई एफपीओ (FPO) भनिन्छ । जसलाई अंग्रजीमा Follow-on Poblic Offering भनिन्छ । पहिले नै आईपीओ निस्काशन गरिसकेको कम्पनीले आफ्नो व्यवसाय बढाउन वा कुनै कारणले चुक्ता पँुजी बृद्धि गर्नुपरेमा सर्बसाधारणलाई एफपीओ जारी गर्दछ । एफपीओ भने कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा नभई त्यसमा प्रिमियम मूल्य जोडेर जारी गर्ने गर्दछ ।

हकप्रद शेयर 

हकप्रद शेयर भनेको कुनै कम्पनीको पहिले नै शेयर किनिसकेका शेयरधनीहरुलाई मात्र दिईने शेयर हो । यसमा पहिले नै सो कम्पनीको शेयर किनिसकेका बाहेकले उक्त शेयर भर्न पाउँदैनन् । हकप्रद शेयर भर्नैपर्छ भन्ने अनिवार्य हुँदैन । यस्तो किसिमको शेयर मूल्य पनि प्रतिकित्ता १०० रुपैयाँ अर्थात पर भ्यालुमै जारी गरिन्छ । कम्पनीले व्यवसायको आकार बढाउन, अर्काे त्यस्तै कम्पनी खोल्न वा ऋण चुक्ता गर्नका लागि आफ्ना शेयर सदस्यहरुबाट निश्चित प्रतिशत पैसा उठाउने उद्धेश्यले हकप्रद शेयर जारी गर्दछ । के प्रयोजनको लागि हो भन्ने कुराको बिवरण हेरेर शेयर सदस्यले उक्त हकप्रद शेयर लिने वा नलिने भनेर फैसला गर्न सक्दछ ।

अहिले नेपाली शेयर बजारका लगानीकर्ताहरुमा हकप्रद शेयरप्रति निकै मोह देखिन्छ । कतिले बुझेर त कतिले नबुझेर । कतिले त बोनश जस्तै मानेर हकप्रद शेयरको पछि कुदेको देखिन्छ । कम्पनीले बोनस दिने भनेको कमाएको नाफाबाट आफ्ना शेयरधनीहरुलाई विवतरण गर्ने हो । तर हकप्रद भनेको दिने नभएर आफ्ना शेयर धनीहरुबाट पैसा लिने हो । यद्यपि हकप्रद शेयर गलतै भने होईन । राम्रा कम्पनीले आफ्नो व्यवसाय बलियो बनाउन हकप्रद शेयर जारी गर्छन् । तर के प्रयोजनको लागि जारी गरेको हो भन्ने कुरा अध्ययन गरेर लगानी गर्नुपर्छ ।

कतिपय कम्पनीले त आफूले कमाएको आम्दानीले ऋणै तिर्न नसकेर पनि हकप्रदका नाममा आफ्ना शेयर धनीहरुबाट पैसा उठाएर ऋण तिर्न हकप्रद जारी गर्ने गरेको देखिन्छ । त्यसकारण हकप्रद शेयरको पछाडि कुद्नुभन्दा पहिले लिनु ठिक कि छैन भनेर जाँच गर्नुपर्छ ।

यदि हकप्रद शेयर भरिएन भने आफुसंग भएको शेयर बुक क्लोज अगाडि नै बेचिसक्नुपर्छ । नभए घाटा लाग्छ । हकप्रद शेयर जारी गरेपछि शेयरको मूल्य समायोजन हुन्छ । एकातिर शेयर संख्या बढ्छ भने अर्कोतिर शेयरको मूल्य घट्छ । त्यसकारण हकप्रद शेयर लिदा अलि चनाखो हुनुपर्छ ।

यो पनि पढ्नुहोस

संस्थापक शेयर किन्नु राम्रो कि साधारण शेयर ?

(पछिल्लो समय शेयर बजार प्रति आम नागरिकहरुको बढ्दो चासोलाई मध्यनजर गर्दै मुख्यतः नयाँ प्रवेशीहरुलाई शेयर बजार बारे जानकारी मिलोस भनेर शेयर शिक्षा श्रृङ्खला स्तम्भ सुरु गरिएको हो । यस स्तम्भमा शेयर बजार विश्लेषक तथा जानकारहरुबाट शेयर शिक्षा सम्बन्धि लेखहरु प्रकाशन गरिने छ ।)

सम्बन्धित समाचार