काठमाडौं, सरकारले चीनसँग जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयको समस्या अध्ययन गरी प्रतिवेदन बुझाउने कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
यस्तै सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ समिति गठन गरेको छ। समितिमा प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहनु भएको छ।
सरकारले केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत वृद्धि गरेको ३३ प्रतिशत सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय पनि गरेको छ।
बैठकले मेडिकल काउन्सिलको सदस्यमा मोरङका डा. विक्रान्त ढकाललाई र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ।
यस्तै निर्वाचन आयोगका सहसचिव राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गरेको छ। सरकारले दीगो तथा सम्मानित रोजगारीका लागि सञ्चालित सिप परियोजनामा स्विस सरकारको अनुदान सहायता करिब १ अर्ब ९३ करोड रूपैयाँ स्विकृत गर्ने निर्णय गरेको छ।
बैठकले माओवादी जनयुद्ध ०६२/६३ को आन्दोलन, मधेश आन्दोलनका घाइते अपांगको पुनःस्थापना हेरचाह, सहायतासम्बन्धी निर्देशिकाको दोस्रो संसोधन २०७८ स्विकृत गर्ने निर्णय गरेको छ।
यस्तै बैठकले पाकिस्तानको माउन्ट के टू को सफल आरोहण गर्ने दावा तेन्जिङ शेर्पाको टोलीलाई प्रोत्साहनस्वरूप जनही १ लाख रूपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।


प्रतिक्रिया