पूर्व स्वास्थ राज्यमन्त्री तारामान गुरुङले खाँदबारी नगरपालिका–४ सेकाहा स्थित रहेको आधारभूत स्वास्थ चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
आज (सोमबार) एक कार्यक्रम बीच उक्त सामग्रीहरु आधारभूत स्वास्थ्य चौकीका अध्यक्ष तथा ४ नम्बर वडाध्यक्ष सजित राईलाई पूर्वराज्यमन्त्री गुरुङले हस्तान्तरण गरेको हो । विश्वभर फैलिएको कोभिड १९ को महामारी नियन्त्रणका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले अक्सिजन कन्सर्नट्रेटर १ थान, माक्स, स्यानिटाईजर लगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री गुरूङले जनताको स्वास्थ्य सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको समेत बताए । उनले महामारीको समयमा आफै सचेत रहनु पर्नेमा आग्रह गर्दै माक्स, सेनिटाइजर नियमित प्रयोग गर्दा केही सुरक्षित हुने बताए । ‘अक्सिजन कन्सर्नट्रटर कोभिड १९ का बिरामीलाई मात्रै होइन, श्वासप्रश्वासमा समस्या हुदाँ बालबालिका देखि बुढाबुढी जुनसुकै रोगका बिरामीहरुलाई काम दिन्छ । त्यसैले सुरक्षित तरिकाले संरक्षण गरेर चलाए निकै टिकाउ हुन्छ । ’—पूर्वराज्यमन्त्री गुरुङले भने ।
आफ्नै वडामा आधारभूत स्वास्थ्य चौकी संचालनमा आएपछि स्थानीयहरुले धेरै सुविधा पाएको पूर्वसाँसद टंकप्रसाद राईले बताए । उनले स्वास्थ्य सबैभन्दा महत्वपूर्ण हुने भएकाले यो कोभिड १९ का महामारीबाट सुरक्षित रहन सबैमा आग्रह समेत गरे ।
कार्यक्रममा पूर्वसांसद टंकप्रसाद राई, नेपाली कांग्रेस, संखुवासभाका कोषाध्यक्ष छत्रमणी काफ्ले, सहसचिव राजेन्द्र घले, नेपाल तरूण दल, संखुवासभाका अध्यक्ष टकमान घले, नेविसंघ, संखुवासभाका अध्यक्ष चक्र गुरूङ, नेपाली काँग्रेसका खाँदबारी नगरसभापति छत्रमणी काफ्ले (क), वडासभापति नरबहादुर गुरुङ, वडा सदस्य जीतबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
उक्त सामग्री हस्तान्तरण कार्यक्रम आधारभूत स्वास्थ्य चौकीको अध्यक्ष एवं खाँदबारी नगरपालिका, वडा नं. ४ का वडाध्यक्ष सजित राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने सूर्यनारायण श्रेष्ठले संचालन गरेका थिए ।
प्रतिक्रिया