पर्यटकलाई आकर्षित गर्दै लमजुङका झरना


३१ भाद्र २०७८, बिहिबार


लमजुङ । डुम्रे–बेंसीशहर सडकका छेवैमा सुन्दर आकाशे छहरा । लमजुङको बेंसीशहर नगरपालिका–१ दलालमा अवस्थित छहराको फेंदीको सुन्दर पोखरी । ८० मिटर उचाइबाट झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणी । यही इन्द्रेणीको अनुपम दृश्यावलोकन गर्न पर्यटकको गन्तव्य बनेको छ ।

छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर सेल्फी लिन्छन् । कपडा खोलेर चिसोपानीमा डुबुल्की नमारी त कहाँ धित मर्छ र रु उहाँहरु छहराका फेंदमा बनाइएको पोखरीमा घण्टौं रमाउँछन् पनि ।

यस वर्ष कोरोना महामारीका कारण बाह्य पर्यटक आएका छैनन् । विगतमा भने यहाँ पदमार्गमा आउने विदेशी पर्यटक समेत दिल खोलेर रमाउने गर्दथे । सडकमा गुड्ने सवारीसाधन समेत छहरा छेवैमा आइपुगेपछि एकछिन रोकिने र यात्रुहरु यहाँको प्राकृतिक सुन्दरता नियाल्ने प्रयास गर्दछन् ।

यस झरनामा दैनिक २५० को हाराहारीमा आन्तरिक तथा विदेशी पर्यटक आउने गरेका छन् । शनिबार र बिदाका समयमा भने दोब्बर नै आउने गरेका छन् । यस झरनामा लमजुङ बाहेक छिमेकी जिल्ला तनहुँ, गोर्खा, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । झरनाको शीतलतासँगै सेल्फी खिच्दा मन चङ्गा जस्तै हुने आन्तरिक पर्यटक सिर्जना श्रेष्ठले बताइन् । ‘घरमा बसेर दिन बिताउन कठिन हुन्छ । यहाँ आएर झरनासँग रमाउँदा दिन बितेको पत्तो नै हँुदैन, झरनामा भिज्दा आनन्दको आभास हुन्छ,’ खुदी भुलभुलेका रामबहादुर थापाले भने ।

राइनास नगरपालिका–८ की गोमा जिनी नेपालीले भनिन्, ‘झरनामा रमाउन मन लाग्छ अनि साथीहरुलाई पनि सँगै ल्याएर रमाउने गरेको छु, साथीहरु यस झरनामा आउँदा रमाइलोे महसुस हुन्छ ।’

आन्तरिक पर्यटक मात्र नभई विदेशी पर्यटकको रोजाइमा परेको यो झरनामा कोरोना महामारीका कारण यस वर्ष विदेशी पर्यटनक भने नआएको स्थानीयवासी कृष्णराज ओलियाले बताए । साहसी खेल क्यानोनिङको समेत राम्रो सम्भावना यहाँ रहेको छ । बेंसीशहर नगरपालिकाले पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि अन्य संघ संस्थासँग मिलेर काम जारी राखेको छ । बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले झरनालाई पर्यटकको आकर्षणको केन्द्र बनाउन विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० समेत तयार गरिसकेको छ । नगरपालिकाको ६ करोड ६८ लाख रुपैयाँको लागतमा सो झरनालाई व्यवस्थित बनाउनका निजी क्षेत्रलाई काम गर्ने जिम्मा दिने तयारीमा रहेको नगर प्रमुख अर्यालले बताए ।

सम्बन्धित समाचार