मत्स्यपाेखरी वरिपरि १०८ वटा नेपालकाे राष्ट्रिय झण्डा राखिने



चिचिला । चिचिला गाउँपालिका ४ स्थीत धार्मिक तथा पर्यटकीय स्थल मत्स्यपोखरी वरिपरि नेपाली झाण्डा राखिने भएको छ । पोखरी वरिपरि राखिएको रेलिङमा चिचिला गाउँपालिकाले १०८ वटा झण्डा राख्न लागेको हो ।

पोखरी क्षेत्रलाई आकर्षक बनाउनको लागि रेलिङमा करिव २ मिटरको फरकमा झण्डा राख्न लागिएको वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयो । पोखरी क्षेत्रलाई आकर्षक बनाए यहाँ घुम्न आउने पर्यटकहरुले फोटो, भिडियो खिच्ने र फेसबुक, टिकटक, ईन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा राख्दा प्रचार हुने भएकोले पोखरीको आकर्षण बढाउने उद्देश्यका साथ झण्डा राख्न लागिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

पहिलो चरणमा गाउँपालिकाले झण्डा राख्ने र त्यसपछि स्थानीय क्लव, आमा समुह र कैलाशपति मन्दिर ब्यवस्थापन समितिलाई सुरक्षा र ब्यवस्थापनको जिम्मेवारी दिईने वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

मत्स्यपोखरीलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न गुरुयोजना निर्माण भईसकेको छ । उक्त गुरु योजना बमोजिम नै शिवलिङ्ग, बसाहा, शेषनाग र भगवान गौतमबुद्धको मुर्ति निर्माण गरि प्राण प्रतिष्ठा समेत गरिसकिएको छ ।

यो सँगै प्रवेश गेट, पानीको फोहराको निर्माण कार्य समिएको छ । करिव ११ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने यस पार्कमा सभाहल, खेलमैदान लगायतका संरचनाहरु समेत निर्माण हुनेछ । पर्याप्त बजेटको अभावमा निर्माणको गति सुस्त रहेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार