संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ मा पर्ने मांसिमा गाउँलाई छुट्टै वडा बनाउन स्थानीयले माग गरेका छन् । भौगोलिक हिसाबले बिकट तर सुन्दर मांसिमा बस्तीको पहिचानका लागि समेत छुट्टै वडा बन्नु पर्ने उनीहरुको धारणा छ ।
मांसिमामा गुरुङ र राई जातीको मात्र बसोबास छ । करिब २ सय ५० घर परिवार रहेको मांसिमामा करिब एक हजार जनसंख्या रहेको छ । भूगोल र जनसंख्याको हिसाब हेर्ने हो भने मांसिमा छुट्टै वडा निर्माणका प्रशस्त आधार छन् स्थानीय श्याम कुमार गुरुङ भन्छन् ।
मांसिमाबासीका लागि वडा कार्यालय मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा छ । जबकी वडा कार्यालयसम्म पुग्न उनीहरुलाई १ दिन बढी लाग्ने गर्छ । सडक सञ्जालले समेत नजोडेको मांसिमाबासी वडा कार्यालयमा पुगेर आफ्नो काम सम्पन्न गर्नलाई करिब १ देखि ५ दिनसम्म लाग्ने गरेको स्थानीय ज्ञान बशादुर गुरुङले बताए । उनी भन्छन्, जन्म दर्ता, मृत्यु दर्ता जस्ता सामान्य काम लिएर नुम पुग्नु पर्छ ।
वडा भित्रको पनि छुट्टै भूगोल भएको मांसिमामा यहाँको जनसंख्या, शिक्षा स्वास्थ्यको पहुँच र हाल वडाको केन्द्र समेत १ दिन टाढा रहेकाले छुट्टै वडा निर्माणमा उनीहरुले जोड दिदै आएका छन् । छुट्टै वडा निर्माणका लागि सम्पूर्ण आधारहरु पुरा हुनसक्ने भन्दै स्थानीय सरकार समेत यसको पहलमा अघि बढीरहेको छ । यस वर्ष गाउँसभाबाट समेत पारित भईसकेको वडाध्यक्ष जापान गुरुङले बताए । आगामी चुनावमा मांसिमा छुट्टै वडा बन्नेमा उनी विश्वस्त छन् ।
भौगोलिक बिकटताले गाँजेको मांसिमाबासी आफ्नो छुट्टै वडा नहुँदा वडाको केन्द्रसम्म पुग्न विभिन्न समस्या त झेल्दै आएकै छन् । तर मांसिमा वडा निर्माणले यहाँका स्थानीयलाई टेवा पुग्ने देखिन्छ भने नियामक निकायबाट उनीहरुको माग कहिले पुरा हुने भन्ने अन्यौल जस्दै बनेको छ ।
प्रतिक्रिया