संखुवासभामा लिम्बू भाषा शिक्षण शुरू हुने



संखुवासभा । विद्यालय तहमा मातृभाषा शिक्षा दिने नीति अनुसार संखुवासभा जिल्लामा पहिलो पटक लिम्बू भाषा शिक्षण प्रारम्भ हुने भएको छ । सभापोखरी गाउँपालिका–५ को अति दुर्गम स्थानमा रहेको प्रकाश आधारभूत विद्यालय, फाकुवामा लिम्बू भाषा शिक्षण सुरु हुने भएको हो ।

लिम्बु भाषा शिक्षणका लागि गाउँपालिकाको अनुदानबाट करार सेवामा लिम्बू भाषा शिक्षक नियुक्त भइसकेका छन् । स्थानीय तहमा मातृभाषामा शिक्षा दिने गाउँपालिकाको कार्यनीति अनुसार लिम्बू भाषा शिक्षणका लागि शिक्षक नियुक्त गरिएको किरात याक्थुङ चुम्लुङ, सभापोखरीका अध्यक्ष मदन मादेन सेरेङले बताए ।

लिम्बु भाषा शिक्षणका लागि साँघुरीगढी गाउँपालिका–२, धनकुटाका प्रभात तुम्बापो लिम्बू नियुक्त भएको लिम्बू भाषा एवं लिपि प्रशिक्षक तथा परीक्षा सञ्चालन बोर्डका सदश्य स्वर्णिमहाङ फोम्बो लिम्बूले जानकारी दिए ।

यस्तै त्रिवेणी मावि, बाह्रबिसेको कक्षा ११ र १२ मा अध्ययनरत ५४ जना विध्यार्थीहरूलाई लिम्बू भाषा शिक्षण तथा सिरिजंगा लिपि लेखन सम्बन्धी प्रशिक्षण दिइएको प्रशिक्षक स्वर्णिमहाङ फोम्बो लिम्बूले जानकारी दिए । हाल लिम्बू भाषा शिक्षणका लागि कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम तथा पाठ्यपुस्तक किरात याक्थुङ चुम्लुङको सहयोगमा पाठ्यक्रम विकास केन्द्रबाट तयार भइ देशका विभिन्न विध्यालयहरूमा लिम्बू भाषा शिक्षण भइरहेको किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य उत्तमकुमार लिङथेपले जानकारी दिए ।

सम्बन्धित समाचार