नेपालको व्यापार घाटा कम गर्ने स्रोत–साधन सङ्खुवासभामा छ : अर्थ मन्त्री शर्मा


१६ कार्तिक २०७८, मंगलबार


सङ्खुवासभा । अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर) ले नेपालको व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधनहरू सङ्खुवासभामा रहेको बताए ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटार विमानस्थल नजिकै रहेको मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले पूर्वी पहाडी जिल्लाको सङ्खुवासभामा मात्रै अथाह स्रोत–साधान रहेको बताउँदै जलविद्युत लगायतका क्षेत्रमा यो जिल्लाले कायापलट गर्ने बताए ।

‘हामी नेपालीहरू गरिब छैनौँ, हामीसँग अथाह स्रोत–साधान छ । यही जिल्लामा जलविद्युतको थुप्रै सम्भावना छ । सरकारले एक हजार मेगावाटभन्दा बढीको माथिल्लो अरुण लगायत थुप्रै जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीहरूलाई जिम्मा दिएको छ । यसले राष्ट्र र नागरिक दुवैलाई फाइदा दिन्छ’, मन्त्री शर्माले भने, ‘हामीसँग भएको स्रोत–साधनलाई राम्ररी परिचालन गर्ने हो भने नेपालीहरू सक्षम बन्न सक्छन् भन्ने लाग्छ ।’

सङ्खुवासभामा किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत् परियोजनालगायत थुप्रै सम्भावना रहेकाले नेपालको व्यापार घाटा घटाउन यो जिल्लाले सघाउ पुर्‍याउने मन्त्री शर्माको भनाइ थियो ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका शर्मा जिल्लास्तरका कार्यकर्तालाई प्रशिक्षण दिन मंगलबार सङ्खुवासभा आएका हुन् ।

एक दिने बसाइमा अर्थ मन्त्री शर्माले सङ्खुवासभाका सरकारी कार्यालय प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, उद्योग व्यवसायी लगायतसँग भेटघाट तथा छलफल गर्ने कार्यतालिका रहेको छ । अर्थ मन्त्री शर्मा बुधवार (भोलि) काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार