सङ्खुवासभाको चिचिला गाउँपालिकास्थित मत्स्यपोखरीमा यहीँ कार्तिक २७ गतेबाट नवनिर्मित मूर्तिहरुको ७ दिने प्राण प्रतिष्ठा सुरु गरिने भएको छ । चिचिला गाउँपालिकाको आयोजनामा मूर्ती निर्माण र प्राण प्रतिष्ठा गरिने भएको हो । त्यहाँ बसाहा, शिवलिङ्ग र गौतम बुद्धको नवनिर्मित मूर्तीहरुमा प्राण प्रतिष्ठा गर्न ५ जना पुरोहितहरु ७ दिनसम्म निरन्तर खटिने गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी गराएकी छन् । पालिकाले मङ्सिर ३ गते पूर्णिमाको दिन बिहान ८ बजेभित्र मूर्तिको प्राण प्रतिष्ठा गरिसक्ने जनाएको छ ।
पूर्णिमाकै दिन पालिकाभर छरिएर रहेका सामुदायिक बिद्यालयका जग्गादाताहरुलाई सम्मान गर्ने र मत्स्यपोखरी मेलासँगै साहित्यीक महोत्सव आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । चिचिला गाउँपालिका र मकालु साहित्य समाज सङ्खुवासभाको आयोजनामा बिहिबार बेलुकी खाँदबारीस्थित पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी गराइएको हो । पालिकाले मकालु साहित्य समाजलाई साहित्यीक महोत्सव आयोजना गर्न जिम्मेवारी सुम्पेको मकालु साहित्य समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले बताए ।
भगवानको पहिलो अवतार भएको मत्स्यपोखरीलाई घुम्टोभित्रकी सुन्दरी नारा दिएर त्यहाँको प्रचारप्रसारमा जोड दिन लागिएको हो । जैविक विविधताको धनी चिचिला गाउँपालिकाको केन्द्र भागमा अवस्थित मत्स्यपोखरीसम्म सवारी साधनहरु पुग्न सक्छन् । त्यहाँ बिजुली बत्तिको समेत व्यवस्था रहेको छ । हवाइजहाजबाट तुम्लिङ्टार पुग्नेहरुले त्यहाँबाट गाडिमा डेढ घण्टा यात्रा गर्दा मत्स्यपोखरी पुग्न सक्दछन् ।
जिल्ला सदरमुकाम खाँदबारीबाट एकदिन टुरमा निस्कन सहज यात्रा हुने मत्स्यपोखरी अब सुविधायुक्त ठाउँमा रहेको र त्यहाँ पर्यटन प्रवद्र्धन गराउँनु खाँचो रहेको साहित्यकार तारा बहादुर बुढाथोकीको भनाई छ । मत्स्यपोखरी मेलामा त्यस क्षेत्रमा मात्र उत्पादन हुने पानीमकै र त्यसका परिकारहरुको स्वाद चखाउँने समेत कार्यक्रम तय गरिएको पालिका कार्यालयले जनाएको छ । त्यहाँ पोखरी नजिकै हरेक बर्ष मङ्सिरे पूर्णिमाको राती, माघे सक्रान्ति मेला र शिवरात्रीमा मेला ९बजार० लाग्दै आएको छ ।
मत्स्यपोखरी मेल भर्न जानेहरुले सरसफाइमा अत्यन्तै ध्यान दिनुपर्ने त्यहाकाँ व्यवस्थापन समिति र उपसमितिहरुले जानकारी गराएका छन् । धाममा टाढाबाट जाने भक्तजनहरुका लागि खान, बस्न र यातायातको राम्रो प्रवन्ध गरिने उनीहरुको भनाई छ । “दुखः कष्ट र पापहरुबाट मोक्ष पाउँनका लागि मत्स्यपोखरीको दर्शन गर्नु” भनिएको छ । त्यहाँ भाकल गर्ने र भाकल बुझाउँनेहरुको पनि लाम लाग्ने गरेको पाइन्छ ।
प्रतिक्रिया