गुन्डा नाइके अभिषेक गिरीको पुनः विराटनगर सरुवा



विराटनगर । जिल्ला कारागार मोरङबाट सरुवा भएको १७ दिनपछि गुन्डानाइके अभिषेक गिरीको पुनः विराटनगर सरुवा भएको छ ।

चार वर्षअघि विराटनगरबाट डिल्लीबजार कारागार स्थानान्तरण गरिएका गिरीलाई गत कात्तिक १६ गते विराटनगर ल्याइएको थियो । तर कैदीबन्दीले प्रवेश गर्न नदिएपछि सोही दिन जिल्ला कारागार सप्तरी पठाइएको थियो । सप्तरी सरुवाको १७ दिनपछि उनलाई पुनः विराटनगर सरुवा गरिएको हो ।

सप्तरीबाट विराटनगर पठाउने निर्णय भएको पत्र शुक्रबार बेलुका जिल्ला कारागार मोरङ आइपुगेको छ । जिल्ला कारागार मोरङका निमित्त जेलर रामप्रसाद पोखरेलले गिरीलाई मोरङ पठाउने निर्णय भएको पत्र आइपुगेको जानकारी दिए । उनका अनुसार शुक्रबार बेलुका कारागार व्यवस्था विभागले गिरीलाई विराटनगर स्थानान्तरणको निर्णय गरेको पत्र पठाएको हो । गिरीलाई तत्कालै ल्याउने तयारी छ ।

‘विरोध हुन्छ भन्ने जान्दाजान्दै केही नेताहरु गरीलाई विराटनगर ल्याउन लागि परेका छन्,’ जिल्ला प्रशासन कार्यालय स्रोत भन्छ, ‘कारागार राम्रो आम्दानीको स्रोत हो, गिरी यहाँ हुँदा नेताहरुलाई चुनाव खर्च जुटाउन सजिलो हुन्छ ।’
गिरीलाई प्रवेश गर्न नदिने चेतावनी

कारागार विभागले गिरीलाई पुनः विराटनगर नै पठाउने निर्णय गरेपछि कैदीबन्दीले रोक्ने तयारी गरेका छन् । गिरीलाई प्रवेश गर्न नदिने कैदीबन्दीले जानकारी दिए । ‘हिजो पनि रोकेका थियौं, अब पनि प्रवेश गर्न दिन्नौं,’ टेलिफोन सम्पर्कमा एक कैदीले भने, ‘कारागारमा रहेका ९ सय कैदीबन्दी गिरीको विपक्षमा छन् ।’

गत भदौ १७ गते गिरीलाई विराटनगर पठाउने निर्णय भएको थियो । तर विरोधका बावजुत गत कात्तिक १६ गते डिल्लीबजार कारागारबाट मोरङ ल्याइयो । कारागार भित्र कैदीबन्दी र कारागार बाहिर कैदीबन्दीका आफन्तले प्रदर्शन गरेपछि ९ घण्टा कारागार प्रशासनमा राखिएका गिरीलाई सप्तरी सरुवा गरिएको थियो । सप्तरी पठाएको १७ दिनपछि कारागार व्यवस्था विभागले विराटनगर पठाउने निर्णय गरे पनि पठाउने कारण भने खुलाएको छैन ।

सम्बन्धित समाचार