खाँदबारी । जिल्लाको चिचिला गाउँपालिका ४ मा रहेको मत्स्यपोखरी धामलाई पर्यटकीय गन्तब्य बनाउन उद्देश्यका साथ साहित्यीक र सांगीतिक महोत्सव सम्पन्न भएको छ । चिचिला गाउँपालिकाको लगानीमा मकालु साहित्य समाज सङखुवासभाको आयोजनामा शुक्रबार महोत्सव सम्पन्न भएको हो ।
धार्मीक शक्तिपिठको रुपमा अवस्थित मत्स्यपोखरी र त्यस क्षेत्रमा उत्पादित पानी मकैको प्रचार प्रसारको लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । मत्स्यपोखरी धामको बृहद् गुरुयोजना निर्माण गरि काम गर्ने क्रममा निर्माण गरिएको शिवलिङ र बसाहाको सप्ताह प्राणप्रतिष्ठाको आयोजना गरेको थियो । उक्त प्राण प्रतिष्ठाको समापनको दिन महोत्सवको आयोजना गरिएको हो । कार्यक्रममा पानी मकैको विभिन्न परिकारहरु विक्रिका लागि राखिएको थियो । पानी मकै पानीमा मात्र फल्ने मकै हो । यो प्रजातीको मकै देश भरि नै चिचिलामा मात्र उत्पादन हुने गाउँपालिकाले दावी गर्दै आएको छ ।
महोत्सवमा साहित्यकार तथा गायक कलाकारहरुले गीत संगीत र साहित्य प्रस्तुत गरेका छन् । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति साँस्कृतिविद् डा. जगमान गुरुङ, साहित्यकार पुरुषोत्तम दाहाल, कवि भरत गुरागाई, कवयत्री कविता राई लगायतका साहित्यकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा साहित्यकारहरुले आआफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । त्यस्तै, ईन्द्रेणी समुहका गायक चीज गुरुङ, कुसुम गुरुङ, माया गुरुङ, उमंग लामा, नवराज राई, जयन्द्र शाक्य, संयोगान्त कुलुङ लगायतका कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । महोत्सवमा करिव दुई हजार दर्शकहरुको उपस्थिती रहेको थियो ।
देशकै विशिष्ट ब्यक्तिहरुको उपस्थितीमा आयोजित महोत्सवले मत्स्पोखरीको महिमा बढेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले प्रतिकृया दिनुभयो । साहित्यीक सांगीतिक कार्यक्रमको प्रस्ताव ल्याएर सफलता पुर्वक कार्यक्रम सम्पन्न गरेकोमा आयोजक मकालु साहित्य समाजलाई अध्यक्ष शेर्पाले धन्यवाद ज्ञापन गर्नुभयो । चिचिला जस्तो विकासले छलाङ मार्दै गरेको पालिकासँग सहकार्यमा कार्यक्रम गर्न पाउनु आफुहरुको लागि पनि खुसीको कुरा रहेको समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताउनुभयो । साहित्य र संगीतको माध्ययमबाट ठाउँ विशेषलाई परिचित गराउने उद्देश्य अनुरुपको कार्यक्रम उपलब्धि मुलक बनेको अध्यक्ष बुढाथोकीको भनाई छ ।
करिव ५ रोपनी क्षेत्रफल पानीले ढाकेको मत्स्यपोखरीमा बाक्लो माछाहरु पाईन्छ । देवताको प्रतिकको रुपमा मानिएको यस पोखरीको माछा मार्न निषेध गरिएको छ । यहाँको माछा मारे अनिष्ट हुने स्थानीयले अनुभव सुनाउने गरेका छन् । पुस्तौ अघि पानी र पोखरी पत्ता लाग्दा नै यहाँ असंख्या माछाहरु भेटिएको स्थानीय बताउछन् । यहाँ जलकन्या देवी र कैलाशपति शिवालय मन्दिर ६० बर्ष अघि नै निर्माण गरिसकिएको छ । यस क्षेत्रमा केहि दिन भित्र नै बुद्धको मुर्ति निर्माण कार्य सुरु गर्ने गाउँपालिकाले तयारी गरेको छ भने केहि बर्ष भित्र नै बौद्ध गुम्बा निर्माण गर्ने गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो । यस अघि गुम्नाम जस्तै रहेको शक्तिपिठको प्रचारप्रसार गरि धार्मिक पर्यटकहरु भित्राउने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
प्रतिक्रिया