लमजुङको भुस्मेमा जिप दुर्घटना : १२ जना घाइते


२३ मंसिर २०७८, बिहिबार


लमजुङ । मर्स्याङ्दी गाउँपालिका ८ भुस्मेनजिकै कालिमाटी भन्ने स्थानमा ग १ ज ६३१७ नंको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। मर्स्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएको सो जिप बिहीबार बिहान दुर्घटनामा परेको भुस्मेका स्थानीयवासी होमराज तामाङले जानकारी दिए।

उनका अनुसार दुई जनाको जिपबाट उद्धार गर्न समस्या भएको छ भने अन्य १० जनाको उद्धार गरेर जिल्ला अस्पताल ल्याइँदै छ। जिपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा ब्याक गर्ने क्रममा करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ।

खुदी प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको र जिपले थिचेकाको उद्धार गर्ने काम भइरहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ। थप विस्तृत जानकारी आउन बाँकी रहेको छ।

सम्बन्धित समाचार