प्रदेश २ को सभामा दुई अध्यादेश पेश, ८ पुससम्म बैठक स्थगित



काठमाठौं । प्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन्। सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेश गरेका छन्।

अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ। सभामुख सरोज यादवले आगामी पुस ८ गते बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।

सामाजिक विकासमन्त्री साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेश गरेका हुन्।

सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले अध्यादेश पेश गर्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए। पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठक अवरुद्ध गराइएको जानकारी दिए।

यो अध्यादेश अलोकतान्त्रिक रहेकाले यसलाई टेबुल हुन नदिने भन्दै बैठक अवरुद्ध गरिएको थियो। उनले अध्यादेश फिर्ता नहुँदासम्म संसद् चल्न नदिने पनि बताएका थिए।

सभामुख यादवले सरकारले अध्यादेश ल्याउन पाउने नियम रहेको र कुन स्थितिमा ल्याएको भन्ने कुरा सरकारले जवाफ दिनुपर्ने भन्दै अवरोध नगर्न आग्रह गरेका थिए। लोसपाका सदस्यले अवरोध जारी राखेपछि प्रदेशसभा १५ मिनेटका लागि स्थगित गरी पुनः सुरु भएको बैठकमा अध्यादेश पेश भएको हो।

सम्बन्धित समाचार