संखुवासभा । पाँचखपन नगरपालिका वडा नं. ३ माक्सुवा स्थित देवकोटा आधारभुत विद्यालयमा शिक्षक अभावमा बहुकक्षा सञ्चालन भइरहेको छ । शिक्षक अभावका कारण कक्षा ४ र ५ मा बहुकक्षा सञ्चालन भइरहेको हो । यी दुवै कक्षाका सबै विषयमा बहुकक्षा सञ्चालन गर्नु परिरहेको प्रधानाध्यापक सुरेश कार्कीले बताए ।
कक्षा ४ मा ७ जना र कक्षा ५ मा ९ जना विद्यार्थी सहित यो विद्यालयमा ९० जना विद्यार्थी अध्ययनरत छन् । तर कक्षा ४ र ५ का १६ जना विद्यार्थीलाई ४५ मिनेटको अवधीमा दुवै कक्षा अध्यापन गराउनु पर्ने बाध्यता रहेको शिक्षकहरु बताउँछन् । उक्त अबधीमा एकापटी कक्षा सञ्चालन गर्दा अर्कोपटी हल्ला हुने जस्ले गर्दा दुवै कक्षालाई शिक्षण गर्न समस्या हुने गरेको बताउँछन् । एकै समयमा दुई कक्षा अध्यापन गराउनु पर्दा विद्यार्थीको पढाईमा समेत समस्या भईरहेको उनीहरु बताउँछन् । वर्ष दिनमा अध्यापन गराईसक्नु पर्ने हरेक विषय दुई कक्षालाई आधाआधा सञ्चालन गनुपर्ने प्रअ कार्कीले बताए ।
गत असोज २० गते शिक्षक दलमर्दन तिवारी काजमा पाँचखपन कै वडा नं. ५ स्थित खप्टुवा माध्यमिक विद्यालय गए । उनी काजमा जानु अघि नै विद्यालयमा बहुकक्षा सञ्चालनमा रहेको थियो । तर शिक्षक अभाव भइरहेकै बेला तिवारीलाई काजमा पठाइएपछी अध्ययन अध्यापनमा झनै समस्या भएको विद्यालयले जनाएको छ । कोरोना भाइरसका कारण थलिएको शिक्षा क्षेत्रमा करिब ३ महिना बढी शिक्षक अभावका कारण अध्ययन अध्यापनमा परेको असरलाई न्युनिकरण गर्न स्थानीय सरकारलाई गुहार्दा समेत समस्याको समाधान नहुँदा विद्यार्थीहरु मारमा परेको अविभावकहरु बताउँछन् ।
विद्यालयमा अध्यापन गराउन असहज परिस्थिति भएको भन्दै शिक्षक तिवारीले सरुवा गरिदिन पाँचखपन नगरपालिकालाई अनुरोध गरेका थिए । तर शिक्षक अभावकै बेला प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बरालको ठाडो आदेशमा तिवारीलाई काजमा पठाएर विद्यार्थीको भविष्य माथि खेलबाड गरेको अविभावकहरु बताउँछन् । तिवारीलाई काजमा पठाएपछी दशैं पछी अर्को शिक्षक पठाई दिने भनेर हामीलाई अलमल्याई रहे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर वैद्यले भने । पटकपटक शिक्षक माग गर्न नगरपालिका पुगेका विद्यालय व्यवस्थापन समिति तिहार पछी शिक्षक पठाई दिने आश्वासनमा फर्किए । तर तिहार पछी पनि हालसम्म विद्यालयले शिक्षक पाउन सकेको छैन ।
यस विषयमा प्रमुख प्रशासकीय बरालले भने शिक्षक तिवारीले आफु कार्यारत विद्यालयमा अध्यापनका लागि असहज परिस्थिति भएकाले काजमा पठाउन पटकपटक अनुरोध गरे । सोही अनुसार उनलाई काजमा पठाइएको हो । उनले थपे : विद्यालय, व्यवस्थापन समिति र नगरपालिकाबिचमा तालमेल नमिलेका कारण शिक्षक पठाउन नसकिएको बताए । उनले भने विशेष गरेर शिक्षक सरुवाको विषय शिक्षा विकास समन्वय ईकाइको जानकारी अनुसार केन्द्र बाटै रोकीएको हुनाले आफुहरुले केही गर्न नसकिने बताए । यता शिक्षा विकास समन्वय ईकाइका प्रमुख केशव भट्टराईका अनुसार स्थानीय तहले आफ्नो पालिका भित्र शिक्षक काजमा पठाउने व्यवस्था छ । तर देवकोटा आविको विषयमा दरबन्दी कै शिक्षक काजमा गएपछी पदपुर्ति गर्न सकिदैन । किनकी त्यो दरबन्दी खाली हो भने हामी तुरुन्तै शिक्षक नियुक्ति गर्न सक्छौं । तर दरबन्दीकै शिक्षक अर्को विद्यालय काजमा पठाउनु सबै पक्षको कम्जोरी रहेको उनको भनाई छ ।
२ दरबन्दी, १ राहत कोटाका शिक्षक, १ जना कार्यालय सहयोगी, १ जना निजी र १ जना स्वयमसेवकका रुपमा विद्यालयमा कार्यरत छन् । दरबन्दीका शिक्षक तिवारी काजमा गएपछी अर्को शिक्षक ल्याउन ठूलै कसरत गरेको प्रअ कार्कीको अनुभव छ । तर पटकपटक आश्वासन दिएको नगरपालिकाले शिक्षक पठाउन नसके पछी सहजताका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार १ जना स्वयमसेवक शिक्षक कार्यरत छन् । शिक्षक अभावले विद्यार्थीको पढाईमा असर पुगेपछी मंसिर १ गते देखि अजय आले मगर स्वयमसेवक शिक्षकको रुपमा काम गर्दै आएका छन् ।
प्रतिक्रिया