भोजपुर । भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन प्रभावित बनेको छ। माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ।
यहाँका पर्यटकीय क्षेत्रहरु, सुन्तले, बाघखोर, धापखर्क, मैयुङ डाँडा, टेम्के डाँडा, चखेवा भञ्याङलगायत ठाउँमा एकदेखि दुई फुटसम्म हिउँ परेको स्थानीयबासीले बताएका छन्।
केही दिनयता मौसममा परिवर्तन भएर आएको हिँउ र पानीका कारण चिसो बढ्दा चौपायाहरुलाई बचाउन समस्या भएको स्थानीय शिवकुमार विष्टले बताए। त्यस्तै केटाकेटी तथा वृद्धवृद्धा चिसोको प्रत्यक्ष मारमा परेको उनको भनाइ छ।
विष्टले भने, ‘हिमपातका कारण धेरै चिसो बढेको छ। घर बाहिर निस्कन सक्ने अवस्था छैन। अरूभन्दा पनि बालबच्चा केटिकेटी, बृद्धबृद्धा र पशुचौपायालाई धेरै समस्या छ।’ चिसो अत्याधिक वृद्धि हुँदा जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन्।
लामो समयपछि हिउँ र पानी परेकाले किसानहरु भने उत्साहित बनेका छन्। आलु र मकै रोप्नको लागि जमिन तयार गर्ने समयमा हिउँसँगै पानी आएकाले खेतीपाती गर्नको लागि सहज भएको टेम्केमैयुङ ५ मझौलेका कृषक लाक्पादोर्ची शेर्पाले बताए।
स्थानीयबासी शेर्पाले भने,‘ हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ। तर हामी किसानलाई भने धेरै फाईदा पुगेको छ। अव आलु, मकै रोप्ने बेला भयो यसले हामीलाई राम्रो भएको छ।’
चिसो बढेपछि सदरमुकाम र आसपासका स्थानीय बासिन्दालाई घर बाहिर निस्किन समस्या भएको बताउने गरेका छन्। चिसोका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। हिँउले गर्दा पशु चौपायाहरुलाई भने बचाउन समस्या भएको स्थानीयको भनाइ छ।
हिउँ परेसँगै हिउँ खेल्न आउनेको संख्या बढेपछि सुन्तले, चखेवा, बाघखोर लगायतका ठाउँमा सञ्चालनमा रहेका होटल तथा पसलहरुमा मानिसहरुको चाँप बढेको छ। दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक आउने गरेको बाघखोरका स्थानीय होटल व्यवसायी गणेश कुमार तामाङले बताए।
उनले भने,‘हिउँपरेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ। यसले यहाँको व्यापार व्यावसायमा टेवा पुगेको छ।’
प्रतिक्रिया