‘संघर्षका छालहरु’ जीवन्यासको कृतिगत मूल्य



ताम्कुका एक युवा श्रष्टा विनोद मेवाहाङ ‘गुराँस सेगमेन्ट’ को ‘संघर्षका छालहरु ‘हिजोबाट बजारमा आएको छ । नेपाली समाजका जम्मै आयामहरुमा भएको विकृति, बिसङ्गति, विभेद, निषेध र भ्रष्टाचारको रापबाट पिल्सिएको, थिलथिलो भएको पृष्ठभूमिलाई आधार बनाएर अग्रगमनको सपना बाँड्दै २०५२ फागुन १ बाट नेकपा माओवादीले सशस्त्र जनयुद्धको प्रारम्भ गर्यो ।

सामाजिक न्याय र समानताको खडेरीले गाउँगाउँ आत्था आत्था भएको युवा पुस्ता सपनाहरुलाई विपनामा रुपान्तर गर्न देश र जनताको मुहार फेर्ने जीवन्त सपना बोकेर युद्धको निम्ति गाउँगाउँ बाट उठे,बस्तीबस्तीबाट हतियार बोक्न तयार भए । यसै क्रान्तिको ज्वालामुखीले सङ्खुवासभाको सिलिचोङलाई हल्लायो र गुराँस सेजमेन्ट बलिदानी संघर्षको लागि हत्केलामा ज्यान राखेर टाउकोमा कात्रो बान्न तयार भयो । इमान्दारीपूर्वक युद्धका अनेकौँ मोर्चाहरु सम्हाल्दै प्लाटुन कमान्डर सम्म बन्यो । कैयौ पटक मृत्युको गाडी उसलाई ठोक्काएर अगाडि बढ्छ । कहिले कानका छेउबाट, कहिले टाँगमुनिबाट र कहिलेभने पाखुरामा गोलीका घाउ र रगत चुवाउँदै शहीद भईसकेको घोषणा गर्न लाग्दा सम्पर्कमा पुग्यो । लगभग जीउँदो शहीद बनेको गुराँस सेना समायोजनमा परेन, बस्न मानेन।गाउँबस्तीमा फर्केर सहयोद्धाहरु मरेको खबर आँसु बगाउँदै प्रेमिकालाई सुनउँछ । क्रान्तकारी राज्यसत्ता र गणतन्त्रले पनि घाइते, बेपत्ता, मृतक र पूर्व लडाकूको हितमा ठोस योजना ल्याउन सकेन ।

न त रोजगारी, उत्पादन र समृद्धिसँग नै आम युवा शक्तिलाई जोड्न नै सक्यो । ब्यवस्था परिवर्तन भए पनि अवस्था फिटिक्कै वद्लिएन ।  फलस्वरुप गुराँस मलेसियामा कामदार बन्न पुग्छ । त्यहाँ पनि मेनेजरले गरेको दमन र कुटपिट बिरुद्ध आन्दोलन गर्छ र हिरासतमा पर्छ । राम्रो मालिक पनि भेट्छ तर ऊ इलिगल भइसकेको हुन्छ । फेरि गाउँ फर्कन्छ । समाजसेवामा लागेर स्थानीय निर्वाचनपछि गाउँपालिकाको कार्यपालिका सदस्य बन्छ । ऊ अहिले पनि जनयुद्धप्रति इमान्दार छ । ऊ यो इमान हराउँदै गएर नेतृत्वमा देखापरेको साँस्कृतिक बिचलनबाट हैरान छ । नेतृत्वलाई देश र जनताप्रति इमान्दार भएर राजनीति गर्न सन्देश दिन र दुनियाँ सामु महान् जनयुद्धको कथा पस्किन “संघर्षका छालहरु” नामक कृति आफ्नै खर्चले प्रकासन गर्छ । कृतिभित्रको कथा यही हो । तर यति जीवन्त छ कि कथावस्तुको आधारमा यो कृतिलाईस प्रगतिवादी यथार्थवादी समाजवादी धाराको कृतिको रुपमा निरुपित गरिन्छ र कृतकार प्रगतिवादी लेखक हुन् ।

देशप्रेम, जाति (नेपाली) प्रेम र क्रान्तप्रेमको त्रिवेणी बनेर बगेको यो कृतिलाई जीवन्यास भनी बिधागत वर्गीकरणभित्र राख्न सकिन्छ । यो नवीन विधा हो । आवरणचित्र अमूर्त छ, आफ्नो परिचयको तस्विरमा चन्द्रसूर्य झन्डा राखेर देश प्रेम झल्काएका छन् । लाईटवेट पेपरमा छापिएको यस पुस्तकमा इमान्दार नेता “प्रभाकर”को मात्र शुभकामना राखेर उनले भूमिका लेखन परम्पराको क्रमभङ्गता रोजेका छन् । १२४ पृष्ठको यो कृति कुनै उपशीर्षक विना नै निरन्तर पाठकलाई कौतुहलताले तानेर ४ घन्टाको एक बसाइमा पढ्न सकिन्छ । अक्षर र मूल्यका दृष्टिले उपयुक्त छ । मपात्रको नायकत्वमा सक्षम, प्रकृति, गुराँसजस्ता सहायक पात्रहरुको उपस्थितिमा अनेकन युद्धका पक्षधर र बिपक्षी पात्रहरु छालभित्र तरङ्गित हुन्छन् । प्रेम, आक्रोस, घृणा, सहानुभूति र पश्चातापका भावहरु पाठकको मनमा पटकपटक आँधीजसरी ल्याइदिन कृति सफल छ ।

प्रदेश नं.१ का सबै पहाडी जिल्ला, काठमान्डौ र मलेसिया कृतिका भौगोलिक परिवेश हुन् । प्रथम पुरुष दृष्टिविन्दूमा संरचित प्रस्तुत कृतिको भाषा अरुणको पानी जस्तै सत्यम्, शिवम्, सुन्दरम् बोकेर सलल बगेको छ ।युद्ध रणनीति र हातहतियारको जम्मै नाम र क्रियापदहरु आगन्तुक शब्दका रुपामा आएपनि प्रसङ्गले स्वत:स्पष्ट छन् । पात्रानुकुल भेषभूषा र सम्बादले कथालाई जीवन्तता प्रदान गरेको छ । निरङ्कुस राज्यसत्ता र परिवर्तनकारी शक्ति विचको युद्धकै चित्रण भएकोले कृतिभित्रको द्वन्द्व महाभारत महाकाब्यको भन्दा कमजोर छैन । जीवनक घुम्ती र मोडहरुमा भोगेका तीता र सन्सनीपूर्ण यथार्थ भएकोले “संघर्षका छालहरु”शीर्ष सार्थक बनेको छ । कृतिमा मुद्राराक्षसको आक्रमण भएकै छ ।

केही महत्वपूर्ण तथ्य र तिथिमिति साभार भएको कारण सन्दर्भ ग्रन्थ सूचि समावेश गर्न सकेको भए आधिकारिकताको पुष्टि पनि हुने थियो । उपशीर्षकहरु राखेर परिवर्तित परिवेश र सन्दर्भहरु ब्यवस्थित गर्न सकेको भए पाठकले पठनयात्रा थालेपछि बिश्रामको चौतारी फेला पार्न सक्थे । जुनसुकै मूल्यमा गुराँस सेगमेन्टको यो पहिलो प्रयास नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा एउटा पाकेको इँटा नै हो । कृति विमोचन र समीक्षाका लागि अप्रमुख अतिथिका रुपमा मेवाहाङ र कुलुङ् सँस्कृतिको पवित्रभूमि शिलिचोङ्को हृत्केन्द्र ताम्कुमा स्पर्श गर्न यो अकिन्चन लेखकलाई अवसर दिएर हार्दिक सम्मान गर्नुभएकोमा लेखक र सिँगो शिलिचोङको भूमि एवम् भूमिपुत्रहरु प्रति आभार कृतज्ञता ज्ञापन गर्दछ । समृद्ध सिलिचोङ र सुखी सिलिचोङबासीको लागि कामना गर्दै जीवन्यासकार गुराँस सेगमेन्टको कलमको डोबहरुलाई अझ परिष्कृत कृति निरन्तरताको कामना गर्दछु ।

-ताराबहादुर बुढाथोकी ‘पाख्रिबासे कान्छो’ चिचिला-१,

हाल: खाँदबारी । पौष २५, २०७८

सम्बन्धित समाचार