अनलाइनबाट जुवा खेल्ने र खेलाउने ७४ जना काठमाण्डौबाट पक्राउ



काठमाण्डौ । अनलाइन माध्यमबाट जुवा खेल्ने र खेलाउने ७४ जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

हिजो आइतवार राति काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा दोलखाका सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा अनलाइन जुवा बिङ्गो खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये ६६ जना पुरुष र आठ जना महिला रहेका छन् ।

रेस्टुरेन्टमा ठूलो सङ्ख्यामा मान्छेहरू जम्मा भएर अनलाइन जुवा खेलेको सुराकीका आधारमा प्रहरीले छापा मारेको थियो । उनीहरूको साथबाट ६ लाख ९० हजार रुपैयाँ नगद, अनलाइन जुवा खेलाउन प्रयोग हुने मोबाइल लगायतका सामग्री बरामद गरिएको पनि महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पछिल्लो समय अनलाइनबाट जुवा खेलाउने क्रम बढेको भन्दै सक्रियता बढाइएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार