भोटखोला क्षेत्रमा हेलिकप्टर उडाउने प्रक्रिया नै झन्झटिलो



संखुवासभा । जिल्लाको भोटखोला क्षेत्रमा सुविधासम्पन्न स्वास्थ्य संस्था छैन । एकातिर सडक सञ्जालले समेत जोड्न नसकेको यस क्षेत्रका नागरिकहरु विरामी पर्दा उपचार गर्न सहर लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको छ । आर्थिक स्थिति कमजोर रहेको यहाँका नागरिकहरुले ऋण गरेर नै हेलिकप्टर चार्टर गर्दा पनि कानुनी प्रकृया झन्झटिलो हुँदा झनै सास्ती व्यहोर्नु परेको छ ।

चीनसंग सिमाना जोडिएको संखुवासभाको अति दुर्गम भोटखोला क्षेत्रमा सुविधासम्पन्न स्वास्थ्य संस्था छैन । स्थानीय नागरिकहरु विरामी परेको बेला सहर लैजानु पर्ने यहाँको वाध्यता हो । सहज सडक सञ्जालसमेत नजोडिएको यो क्षेत्रका विरामीहरु कि बोक्नु पर्ने, कि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।

मकालु गाउँपालिका–१ वालुङ्का मिङ्मा शेर्पाको दुई वटा हेलीकप्टर छ । विगत ५ वर्षदेखि उनले हेली एभरेस्ट नामको कम्पनी मार्फत हेलिकप्टरबाट यहाँका स्थानीयहरुलाई हवाई एम्बुलेन्सको रुपमा काम गरिरहेका छन् । हालसम्म उनले यस क्षेत्रका ३० भन्दा बढी विरामीको उद्धार गरेका छन् । तर उनलाई यस काममा सरकारी नियम बाधक छ ।

यो क्षेत्र मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र र सरकारको निषेधित क्षेत्रभित्र पर्छ । निकुञ्ज क्षेत्रमाथिबाट हेलिकप्टर उडान गर्न गृहमन्त्रालयबाट अनुमतिपत्र लिनु पर्ने हुन्छ । तर अनुमति पत्र लिने प्रक्रिया त्यति सजिलो छैन । बिरामीलाई सकेसम्म छिटो स्वास्थ्य सेवा दिन हेलीकप्टरबाट उद्धारमा अनुमति लिने प्रक्रिया ढिलो हुँदा बिरामीको प्राण नै गई सक्छ । समयमा बिरामीको उद्धार गर्ने हो भने मात्र विरामीको उपचार सम्भव हुन्छ, तर मन्त्रालयको कागजी प्रकृयाका कारण बिरामीको अवस्था हेरी समयमा उद्धार गर्न गाह्रो हुने गरेको शेर्पाको भनाई छ ।

यहाँका अधिकांश मानिसहरु न्युन आर्थिक अवस्थाले गुज्रिरहेका छन् । कसैलाई पनि मर्ने इच्छा हुँदैन । उडान निशेधित क्षेत्र वा विकट भूगोल भएकाले पनि बिरामी भएपछी उपचार गर्नका लागि ऋण खोजेर भएपनि हेलीकप्टर चार्टर गर्नुपर्छ । निषेधित क्षेत्रमा विरामीको उद्धारमा तत्काल आफुखुशी उडान गर्न पाइदैन । असहज कागजी प्रकृयाका कारण विरामीले मृत्युवरण गर्नु पर्ने अवस्था छ । तर उद्धार गर्ने कुरामा उडान अनुमति प्रक्रिया छिटो समयमा उपलब्ध गराउनु पर्ने शेर्पा बताउँछन् ।

सडक यातायात नपुगेको भोटखोला र मकालु गाउँपालिकाको उच्च भागमा शेर्पाले पछिल्लो समय खाद्यान्न, निर्माण समाग्रीहरुको ढुवानी समेत गर्ने गरेका छन् । उनि सँगै मकालु गाउँपालिकाका अर्का मिङ्मा शेर्पाले पनि हेलीकप्टर खरिद गरि सेवा दिइरहेका छन् ।

मौसम अनुकुलता र आर्थिक क्षमताका आधारमा हेलिकप्टर सेवा लिन सकिन्छ । तर दुवै मध्ये एक मात्र अवस्था भएमा यो सेवा भरपर्दो हुँदैन । त्यसैले यो क्षेत्रका बासिन्दाका लागी जीवन एउटा जुवाको खेल मात्र हो । यसको विकल्प भनेको सडक यातायात नै हो । तर कोशी राजमार्गको निर्माण कार्यलाई सरकार र सरकारी कार्यालयको उदाशिनताका कारण आकाशको फल आँखा तरी मरको रुपमा लिन थालिएको छ ।

सम्बन्धित समाचार