दीपक कार्की कामु प्रधानन्यायाधीश



काठमाडौं । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।

कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषद‍्को पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । कार्की आगामी असोज महिनामा ६५ वर्ष पुग्नेछन् र उमेर हदका कारण स्वतः अवकाश हुनेछन् ।

६५ वर्षे उमेर हद लागु हुने व्यवस्था अनुसार जबराको कार्यकाल भने आगामी मंसिर महिनासम्म थियो । यदि उनले पूरा कार्यकाल काम गर्न पाएको भए कार्कीले बीचमै अवकाश पाउँथे ।

तर जबराविरुद्ध महाअभियोग लागेपछि कार्कीले अवसर पाएका छन् । संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।

सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका छन् ।

सम्बन्धित समाचार