सिलिचोङका शिक्षक र कर्मचारीलाई कम्प्युटर तालिम



ताम्कु । सिलिचोङ गाउँपालिकाका सवै विद्यालयका प्रधानाध्यापक, कम्प्युटर शिक्षक र लेखापाललाई कम्प्युटर प्रशिक्षण सुरु गरिएको छ । एमसिएसए कम्प्युटर ईन्स्टीच्युट खाँदबारीको प्राविधिक सहजिकरण तथा गाउँपालिका शिक्षा शाखाको आयोजनामा तालिम सुरु गरिएको हो ।

गाउँपालिका भित्र रहेका ६ माध्यमिक विद्यालयबाट प्रधानाध्यापक, कम्प्युटर शिक्षक र लेखापाल गरि १८ जनाको सहभागीता रहेको छ । त्यस्तै, १–८ कक्षा सञ्चालन भएका विद्यालयबाट प्रधानाध्यापक र कम्प्युटर शिक्षक गरि २ जनाको दरले तालिममा सहभागि रहेका छन् । १–५ तथा १–३ कक्षा संचालन भएका विद्यालयहरुबाट भने प्रधानाध्यापक मात्र तालिममा सहभागी भएका छन् ।

तालिममा विद्यालयका प्रशासकीय कार्यका लागि आवश्यक पर्ने विषयहरु छनौट गरि प्रशिक्षण सुरु गरिएको शिक्षा शाखा प्रमुख बुद्धि कुलुङले जानकारी दिनुभयो । प्रश्न पत्र तयार, विद्यार्थीको लब्धाङ्क पत्र, परिचय पत्र तयारी लगायतका कार्यमा आवश्यक पर्ने विषयहरु तालिममा राखिएको कुलुङले जानकारी दिनुभयो ।

सिलिचोङ गाउँपालिकाका विद्यालय प्रशासनलाई प्रविधिमय बनाउने लक्ष्य सहित पालिकाका ३७ वटै विद्यालयहरुलाई ल्यापटप, प्रिन्टर लगायतका उपकरणहरु उपलब्ध गराईएको थियो । उक्त उपकरणहरुको उचित प्रयोग गर्दै प्रविधिमैत्री विद्यालय बनाउन तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार