मोरङको उर्लाबारीबाट एमाले नेता सहित ७ जना जुवाडे पक्राउ



दमक । मोरङको उर्लाबारीबाट नेकपा एमालेका नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

उर्लाबारी ७ स्थित प्रधानको घरमा तास खेलिरहेको अवस्थामा हिजो साँझ प्रधान सहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारी १ का कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बास्तोला, झापा दमकका सूर्य प्रसाईँ, उर्लाबारीका गोविन्द केसी र शिव लिम्बूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारुङले जानकारी दिए ।

पक्राउ परेका जुवाडेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । प्रहरीले जुवाको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । एमाले नेता प्रधानको घरमा दिनदहाडै तासको खाल बनाएर जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा जिल्लाबाट गएको प्रहरी निरीक्षकको टोलीले जुवाडे पक्राउ गरेको हो ।

पक्राउ परेका प्रधान स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उर्लाबारी ७ मा वडाध्यक्षमा उठेका थिए । उनी पराजित भएका थिए । प्रधानले तासको खालमा सिसी टिभी पनि जडान गरेको पाइएको छ । पक्राउ परेका जुवाडेलाई इप्रका उर्लाबारीले जिल्ला प्रशासन कार्यालय मोरङमा आज म्याद थप गरी अनुसन्धान गर्ने भएको छ ।

सम्बन्धित समाचार