संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नं. १ बेसिन्दा र चेप्चेवाका पहिरो विस्थापितहरुलाई जग्गा हस्तान्तरण गर्न सुरु गरिएको छ । पहिरोबाट विस्थापित ९२ घरपरिवार मध्ये ३७ घरपरिवारलाई जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढेको छ ।
२०७७ साल असार २७ गते राति बेसिन्दा गाउँकै बीच भएर पहिरो जाँदा विस्थापित भएकाहरुलाई मालपोत कार्यालय मार्फत जग्गा हस्तान्तरण सुरु गरिएको हो । बेसिन्दाका २५ घरधुरीलाई बुधबार सिलिचोङ गाउँपालिका कै चित्रे गाउँमा रहेको जग्गा खरिद गरि रजिष्ट्रेशन पास गरिएको गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङले बताए । चेप्चेवाका १२ घरलाई केहि दिनमा संयुक्त रुपमा पास गरिने जानकारी दिए ।
जिल्ला विपत व्यवस्थापन समितिले गएको फागुन २९ गते जग्गा खरिद गरि हस्तान्तरण गर्ने निर्णय गरेसंगै सिलिचोङ गाउँपालिका भित्र नै बस्न चाहाने ३७ घर धुरीको लागि प्रक्रिया अगाडी बढेको हो । २५ घरको लागि प्रतिरोपनी १ लाख २२ हजार ६ सय ४२ रुपियाँमा ५३ रोपनी खरिद गरिएको छ । बाँकी १२ घरको लागि बखल्टुम गाउँमा प्रतिरोपनी २ लाखका दरले १७ रोपनी खरिद गरि हस्तान्तरण गरिरहेको हो । ढिलै भएपनि जग्गा पाएकोले विस्थापितहरु खुसी भएको स्थानीय दुर्जाधन कुलुङले बताएका छन् ।
खाँदबारी नगरपालिका क्षेत्र आउन चाहानेहरुको लागि जग्गा खोजविन समिति नै गठन गरेर ५५ परिवारको लागि टुंगो लागेपनि अझै प्रकृया पुगेको छैन । भुगर्वविदहरु तथा प्राविधिकहरुको प्रतिवेदन प्राप्त भएपछि सोहि अनुरुप अगाडी बढाईने जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।
प्रतिक्रिया