माथिल्लो अरुणमा लगानी डुब्छ कि भनेर डराउनु पर्दैन : मन्त्री शर्मा



काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत् परियोजनामा लगानीकर्ताहरूले लगानी डुब्छ कि भनेर डराउनुनपर्ने बताउनुभएको छ । उहाँले यो परियोजना सरकारको लगानी भएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले परियोजनामा लगानी जुटाउने उद्देश्यले आयोजना गरेको बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले परियोजनाका लागि लगानी कोषले मात्रै एक खर्ब रुपैयाँ लगानी गर्न तयार रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आयोजना घाटामा गएर लगानी डुब्छ कि भन्न पाइयो तर त्यस्तो हुँदैन । सरकारकै लगानी हो । त्यसैले त्यस्तो हुँदैन भन्ने लगानी गर्ने संस्थाहरूलाई विश्वास दिलाउन चाहन्छु । तपाईँहरू ढुक्कसँग लगानी गर्नुहोस् । यसमा सञ्चय कोष, बैंक, बीमा संस्थानसँग पैसा छ । धितोपत्र, नेप्सेलाई पुँजी निर्माण गर्नुहोस् भनिएको छ । पूर्वाधार विकासमा लगानी गर्नुपर्छ । पैसा छ । हाम्रो पैसाको समस्या होइन । हाम्रो समस्या सही योजना, व्यवस्थापन र समयको सदुपयोगमा समस्या हो । यो देशकै समस्या हो । राजनीतिक रूपमा व्यवस्थापकीय समस्या हो । यी सबै विषयमा वृद्धि विकास गर्नुपर्छ ।’

मन्त्री शर्माले माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा लगानीका लागि कुनै पनि समस्या नभएको बताउनुभयो । उहाँले सरकार माथिल्लो अरुण मात्रै नभएर अरुणसँगै बुढीगण्डकी, मुगु, कर्णालीलगायत अन्य जलाशययुक्त आयोजना तत्काल अगाडि बढाउने तयारीमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माथिल्लो अरुणका लागि लगानीको समस्या होइन । यसका लागि लगानी हाम्रा भएका संस्थानहरूबाट नभए अन्तबाट खोजेर भए पनि ल्याउन सकिन्छ । हामी यसरी काम गर्छौँ भन्ने बलियो प्रतिबद्धता चाहिन्छ । त्यसका लागि स्पष्ट नीति पनि चाहिन्छ ।’

अब कसैसँग ऋण लिँदा जुन परियोजनाका लागि ऋण लिएको हो त्यही आयोजनाले तिर्ने व्यवस्था गरिने अर्थ मन्त्री शर्माको भनाइ छ । उहाँले मन्त्री शर्माले माथिल्लो अरुणमा स्थानीयवासीको समेत लगानी रहने गरी शेयर संरचना तयार पारिने बताउनुभयो ।

सम्बन्धित समाचार