जनप्रतिनिधीको कार्यकाल सकियो तर खाँदबारी बजारमा सार्वजनिक सौचालय बनेन



खाँदबारी । खाँदबारी बजार संखुवासभाको प्रमुख बजार र जनघनत्व भएको क्षेत्र मानिन्छ । यो संखुवासभाको मात्र नभएर छिमेकी जिल्ला भोजपुरको उत्तरी क्षेत्रको पनि प्रमुख बजारको रुपमा लिईन्छ । दैनिक हजारौ मानिसहरु आउने जाने गर्छन् ।

जिल्लाकै सवै भन्दा धेरै जनघनत्व भएको खाँदबारी बजारमा कतै पनि सार्वजनिक सौचालय छैन । जिल्लाको मुटु समेत मानिने खाँदबारी बजारमा सार्वजनिक सौचालय नहुँदा गाउँबाट बजार आएकाहरुले समस्या भोग्दै आएका छन् । बजार क्षेत्रमा सार्वजनिक सौचालय नहुँदा गाउँ गाउँबाट सामान खरिद विक्रि गर्न आउनेहरुले सौंच गर्न नपाएको गुनासो गर्ने गरेका छन् ।

बजार क्षेत्रमा रहेकै बेला सौंच गर्नु परे खुल्ला ठाउँमा नै गर्नुको विकल्प नरहेको उनीहरु बताउछन् । बजारमा सौंच आईहाले बास बसेको होटल वा कोठा पुग्ने सम्भावना नभएकोले धेरै मानिसहरु शान्त ठाउँ खोजेर विसर्जन गर्ने गरेको सभापोखरीबाट खाँदबारी आउनुभएका खबरमान राईको भनाई छ । ‘बजार क्षेत्रका घर, पसलहरुको सौचालय जान खोज्दा घरधनीले दिदैनन्, मानिसहरु कम भएका ठाउँमा गएर सौंच गर्नुपर्छ’, राईले भन्नुभयो ।

खाँदबारीको मुख्य बजार क्षेत्र नयाँ बजारदेखि प्रहरी कार्यालयसम्म कतै पनि सार्वजनिक सौचालय छैन । सनिबारे हटिया लाग्ने टुँडीखेलमा एउटा सानो सौचालय बनाईएको भएपनि त्यो प्रयोग बिहिन छ । उक्त सौचालयमा पानी नभएपछि सौचालय हुनुको कुनै अर्थ नरहेको स्थानीय बताउछन् । उक्त टुँडीखेल भन्दा करिव सय मिटर तल रहेको बसपार्क क्षेत्रमा पनि सार्वजनिक सौचालय छैन । दैनिक हजारौको जमघट हुने बसपार्कमा सौचालय नहुँदा यात्रु र स्थानीयले समस्या भोग्दै आएका छन् । सवारी साधनबाट घण्टौको यात्रा गरेर खाँदबारी बसपार्कमा ओर्लिएपछि सौचालय नहुँदा निक्कै पिडा भोग्नु परेको यात्रुहरु बताउछन् । बसपार्क क्षेत्रमा यात्रुहरुले सौचालय सोध्दा जवाफ विहिन बन्नु परेको बसपार्क काउण्टरका कर्मचारीहरु उमेश राई बताउनुहुन्छ ।

जिल्लाको मुख्य बजार खाँदबारीमा कमतिमा दुई स्थानमा सौचालय निर्माण गरिए धेरैलाई राहत मिल्ने नागरिकहरुको भनाई छ । बसपार्क क्षेत्र र पोखरी बजार क्षेत्रमा मात्र भएपनि सार्वजनिक सौचालय सम्बन्धीत निकायले निर्माण गरे सर्वसाधारण नागरिकहरुलाई सहज पर्ने भोजपुरबाट खाँदबारी बजार आउनुभएका लिलाराम राईको भनाई छ । लामो ईतिहास बोकेको खाँदबारी बजारमा अहिलेसम्म पनि कुनै सार्वजनिक सौचालय नहुनु लज्जाको विषय बनेको राईको ठहर छ । जिल्लाको उच्च ओहदाका नेता, जनप्रतिनिधी र कार्यालय प्रमुखहरु समेत बस्ने यस बजार क्षेत्रमा बर्षौसम्म पनि सार्वजनिक सौचालय नबन्नु दुखद रहेको नागरिकहरुको भनाई छ ।

गाेरखापत्र दैनिकबाट साभार गरीएकाे ।

सम्बन्धित समाचार