कुलुङ दाजुभाईले दिए शिसुवाखोला स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन



भिडियाे एक्स-रे मेसिन वडा अध्यक्षालाई हस्तान्तरण गर्दै कुलुङ दाजुभाइ ।

खाँदबारी । सिलिचोङ गाउँपालिका २ लम्मुवा घर भई हाल युकै बस्दै आएका टिका कुलुङ र गोविन्दमान कुलुङले शिसुवाखोला स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन उपलब्ध गराएका छन् । शिसुवाखोलाका विरामीहरुको उपचारमा सहजता पर्याउने उद्देश्यका साथ कुलुङ दाजुभाइले उक्त मेसिन उपलब्ध गराएका हुन् ।

केहि दिनका लागि नेपाल आएका दाजुभाइले स्वास्थ्य चौकीमा नै पुगेर वडा अध्यक्ष अलक्ष कुमार कुलुङलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् । भुगोलको हिसावले शिसुवाखोला सवै भन्दा विकट रहेको र यस क्षेत्रका नागरिकहरु सेवाबाट बञ्चित भईरहेकोले भिडियो एक्स–रे उपकरण उपलब्ध गराएको दाता टिका कुलुङले बताउनुभयो । शिसुवाखोलामा भिडियो एक्स–रे मेसिन उपलब्ध गराउन स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले सहजिकरण गर्नु भएको समेत कुलुङले जानकारी दिनुभयो ।

कुलुङ दाजुभाईले उपलब्ध गराएको एक्स–रे मेसिनले मुख्य गरि मातृशिसुको स्वास्थ्य परिक्षणमा ठुलो सहयोग पुग्ने स्वास्थ्य शाखा प्रमुख कुलुङले बताउनुभयो । पाँच लाख रुपैयाँ बराबरको उक्त उपकरणले गर्भावस्थाको परिक्षण गरि जटिल प्रकृतिको अवस्था भए सुविधा सम्पन्न अस्पतालमा समयमा नै पठाउन सकिने हुँदा मातृशिसु मृत्यु दर घटाउन ठुलो सहयोग पुग्ने कुलुङको भनाई छ । यस्तो सहयोगले नागरिकलाई प्रभावकारी सेवा दिन पाउँदा स्वास्थ्यकर्मीहरुमा समेत उत्साह थपिएको कुलुङको भनाई छ ।

कुलुङ दाजुभाइले विगतका समयमा समेत विपदमा परेकाहरुलाई सहयोग गर्दै आएका छन् । कुलुङ दाजुभाइ संघ युकेमा समेत आवद्ध भएर सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आएका छन् ।

सम्बन्धित समाचार