खाँदबारीको मेयरमा बिनोद सुब्बा गुरुङको दाबी



खाँदबारी नगरपालिका १ पोखरीबजार निवासी बिनोद सुब्बा गुरुङले आसन्न स्थानीय तहको निर्वाचनमा मेयरमा लड्ने दाबी गरेका छन् । राष्ट्रिय तथा स्थानीय पत्रकारिता क्षेत्रमा लामो इतिहास रचेका गुरुङको राजनीतिक पृष्ठभूमि समेत उदयमान बनिरहेका बेला उनले पत्रकार समक्ष खाँदबारी नगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका हुन् ।

हिमालय मा. बि. खांदबारीमा २०५३ सालमा अनेरास्यवियु प्रारम्भिक कमिटीको अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका गुरुङले प्रारम्भिक चरणबाटै नेतृत्व तहमा रहेर वडा कमिटी अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । यतिवेला नेकपा एमाले सङ्खुवासभाको कार्यालय सचिब एवम् प्रचार विभाग प्रमुख पदको जिम्मेवारी सम्हालिरहेका गुरुङ पत्रकारिता क्षेत्रमा सगरमाथा टेलिभिजनको सङ्खुवासभा प्रतिनिधि भएर लामो समय काम गरे । उनी प्रेस चौतारी नेपाल सङ्खुवासभाका निवर्तमान अध्यक्ष हुन् । जिल्लास्थित खांदबारी टाइम्स पत्रिकाको प्रकाश्सम्पादक, गुराँस एफ.एम.को सञ्चालक भएर अगाडि बढेका गुरुङले यस पटकको स्थानीय निर्वाचनमा खाँदबारी नगरपालिकाको मेयर पद दावी गर्ने बताए ।

बिकास निर्माणको ५ ओटा भागलाई राम्ररी बुझेका गुरूङले आफू मेयर भएमा अन्य नगरपालिकाले सिक्ने थलो बनाउँने गरी काम गर्ने बताए । उनले चीन, हङकङ, सिंगापुर, मकऊ, थाईलेड, भुटाङ, लगाएत १० ओटा देशहरुको भ्रमण गरेर ज्ञान बटुलिसकेको हुनाले अब खाँदबारी नगरपालिकाको बिकास गर्न आफैं तयार हुनुको बिकल्प नरहेको बताए । उनले गैरसरकारी संस्था ‘टी.इ.एफ.’ मा रहेर पनि लामो समय काम गरेका छन् । गैर सरकारी संस्था महासंघ नेपाल सङ्खुवासभा शाखाको अध्यक्ष समेत बनिसकेका गुरुङले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रको ज्ञान, सम्वन्ध र बिश्वसनीयता समेत मजबुत रहेकोले मेयर पदमा सजिलै बिजय हासिल गर्ने दावी गरेका छन् । गुरुङको सहपरिवार हङकङ बस्दै आएको भएपनि राजनीतिलाई एक मात्र लक्ष्य बनाएर जिल्लामा अहोरात्र खटिएका उनी आफ्नो श्रीमति र छोरीलाई बिदेशमै छोडेर नेपालको बसोबास रोजिरहेको बताउँछन् ।

जिल्लाको खाँदबारी नगरपालिका वडा नं. ४ सेकाहामा जन्मिएका बिनोद सुब्बा गुरुङको अगुवाईमा अरुणथान– हरेलो बजार– लहरी खर्क हुँदै ५ हजार ५ सिँढी सहितको पर्यटन पथमार्ग निर्माण अभियानको क्रमागत योजना अगाडि बढिरहेको छ । उनकै अगुवाईमा सेकाहामा दर्जनौ होमस्टेस समेत खडा गराए । होमस्टे व्यवस्थापनको क्षेत्रमा प्रदेश नं. १ को अध्यक्ष समेत बनेर नेपालका १४ जिल्लाको बिकासमा समन्वयकारी भुमिका खेलिरहेका उनले खाँदबारी नगरपालिकामा मेयरको जिम्मेवारी पाएपछि पार्टीको जिम्मेवारी र मेयर पद वाहेकका कामबाट अलग रहने बताएका छन् ।

सम्बन्धित समाचार