खाँदबारी । सनम, गोपाल स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि एडभान्स क्लब मानेभञ्ज्याङले हात पारेको छ । कार्तिक ३० गते सम्पन्न भएको फाइनल खेलमा ग्यालेक्सी युनाइटेड फुटबल क्लब खाँदबारीलाई १–० को गोल अन्तरले पराजित गर्दै एडभान्स कल्बले उपाधि जितेको हो ।
“समस्याको समाधान खोजौँ, आत्महत्या हैन जीवन रोजौ” भन्ने मूल नाराका साथ गाउँले स्पोटिङ क्बल खाँदबारी नगरपालिका–७ ले आयोजना गरेको खुल्ला फुटबल प्रतियोगितामा उपाधिसँगै एडभान्स क्लबले नगद ६० हजार तथा ट्रफी पाएको छ । प्रतियोगितामा जिल्लाका १८ टिमको सहभागिता रहेको संयोजक सुसिल जंग कार्कीले जानकारी दिए । प्रतियोगिताको उपविजेता ग्यालेक्सी युनाइटेड फुटबल क्लबले नगद ३५ हजार सहित शिल्ड प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगिताको सेमिफाइनलिस्ट टिमहरु आयोजक गाउँले स्पोटिङ क्लब र मानेभञ्ज्याङ फुटबल क्लबले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
समापन कार्यक्रमका प्रमुख अतिथि खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले विजेता टिमलाई पुरस्कार वितरण गरेका थिए । कार्तिक २६ गतेबाट सुरु भएको प्रतियोगिताको समापन खाँदबारी नगरपालिका ७ स्थित खाँदबारी रंगशालामा भएको हो । आफ्ना मृतक साथीहरु सनम पराजुली र गोपाल तामाङको स्मृतिमा गाउँले स्पोटिङ क्बलले प्रतियोगिताको आयोजना गरेको आयोजक क्लबका अध्यक्ष संजीव मगरले बताए ।
प्रतिक्रिया