सिलिचोङमा बृहद खेलकुद प्रतियोगिता सुरु, म्याराथनमा विजेता बने सन्देश मेवाहाङ



ताम्कु । सिलिचोङ गाउँपालिका खेलकुद विकास समितिको अयोजनामा वृहद् खेलकुद प्रतियोगिता सुरु भएको छ । विभिन्न ५ विधाका खेल खेलाईने उक्त प्रतियोगिता विहिबार उद्घाटन गरिएको हो ।

गाउँपालिकाको केन्द्र ताम्कुमा आयोजित खेललाई गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको पहिलो खेल सिलिचोङ वडा भिजिटिङ म्याराथन प्रतियोगितामा सिलिचोङ ३ कोल्वाका सन्देश कुमार मेवाहाङ विजेता बनेका छन् । वडा नम्बर ५ याफुबाट सुरु भई वडा नम्बर ४ मांतेवा, वडा नम्बर १ सिशुवाखाेला, वडा नम्बर २ बालाको बुधबारे हुँदै ताम्कुमा ३९ किलोमिटरको म्याराथनको रुट तयार गरिएको थियो ।

निलाे जर्सीमा विजेता र राताे जर्सीमा उपविजेता, म्याराथन प्रतियाेगिता ।

उक्त दुरी मेवाहाङले ३ घण्टा ११ मिनेटमा पुरा गरेका थिए । उपविजेता बनेका सिलिचोङ २ बालाका गणेश कुलुङले उक्त दुरी ३ घण्टा २४ मिनेटमा पार गरेका छन् । म्याराथनका विजेता र उपविजेताले शिल्ड मेडल र प्रमाण पत्र सहित नगद २५ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । म्याराथन प्रतियोगितामा ३१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

बृहद खेलकुद प्रतियोगितामा महिला तथा पुरुष भलिबल प्रतियोगिता, फुटबल प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता र एथ्लेटिक्स खेलहरु सञ्चालन गरिने भएको हो । म्याराथनमा खुल्ला सहभागिता राखिएको भएपनि अन्य खेलहरुमा सिलिचोङ गाउँपालिका भित्रका वडा स्तरीय प्रतियोगिता सञ्चालन गरिने तयारी गरिएको छ । यस पटक विभिन्न खेलहरुबाट पालिका स्तरका खेलाडी छनौट समेत गरिने खेलकुद विकास समितिका सदस्य सचिव बुद्धि कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार