स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जिल्ला तहमा पनि आचारसंहिता पालना गर्न जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाले सबै पक्षलाई आग्रह गरेको छ । जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाले सरोकारवाला निकायसँग आचारसंहिताका बिषयमा छलफल गर्दे यस्तो आग्रह गरेको हो ।
आगामी २०७९ बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि निर्वाचन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मर्यादित बनाउने उद्देश्यले जिल्लाका राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाजलगायतका सरोकारवालासँग छलफल गरेको हो ।
स्थानीय तहको निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा छलफलमा जानकारी गराइएको थियो । निर्वाचन आचारसंहिता लागू भएपश्चात प्रचारप्रसारको क्रममा कुनै पनि दलले पार्टीको चिह्न अङ्कित मास्क, टि–सर्ट, ज्याकेट प्रयोग गर्न नपाउने जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख जयप्रकाश बस्नेत बताए ।
बाइक -याली गर्न नपाउने तथा कुनै पनि भेला गर्नु परेमा स्थानीय प्रशासनलाई ७२ घन्टाअगाडि नै जानकारी गराउनु पर्नेलगायतको विषयमा पनि राजनीतिक दलहरूलाई जानकारी गराइएको छ ।
प्रतिक्रिया