आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा पाँच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच रस्साकस्सी हुने देखिएको छ । जिल्लामा गठबन्धनका कारण एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन देखिन्छ । २०७४ को निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस, तेस्रो बनेको नेकपा माओवादी केन्द्र र चौथो बनेको तत्कालीन संघीय समाजवादी फोरम एकै ठाउँ हुँदा एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन हुने आकलन छ । स्थानीय तह २०७४ को प्राप्त मतको आधारमा संखुवासभामा नेकपा एमाले भन्दा पाँच दलीय गठबन्धन अघि देखिएको छ ।
नेकपा एकीकृत समाजवादी र जसपाले एमालेको मत काट्ने सम्भावना भएका कारण पनि गठबन्धन निकै बलियो देखिएको छ । एमाले फुटपछि नेकपा एमालेका तत्कालिन अध्यक्ष हेमराज घिमिरे लगायत जिल्ला स्तरीय नेता कार्यकतासमेत समाजवादीमा छन् । जिल्लाका लोकप्रिय र प्रभावशाली नेताहरु एकिकृत समाजवादीमा गएपछी नेकपा एमाले १० वटै पालिकामा कम्जोर भएको पाइन्छ ।
२०७४ को निर्वाचनमा एमाले र काँग्रेसले पाँच÷पाँच स्थानीय तह जितेका थिए ।
गठबन्धन कहाँ कति बलियो ?
१. खाँदबारी नगरपालिका
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएसँगै जिल्लामा सम्भावित परिणामबारे आकलन हुन थालेको छ । २०७४ को स्थानीय तह निर्वाचन परिणाम अनुसार जिल्लाका १० वटै पालिकामा गठबन्धनको अवस्था बलियो देखिन्छ । २०७४ को स्थानीय तह जितेका एमालेका केही जनप्रतिनिधिको हिस्सा एकीकृत समाजवादीमा गएको छ । जसका कारण नेकपा एमालेको संख्या खुम्चिएको छ ।
खाँदबारी नगरपालिकाको प्रमुखमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काँग्रेसका महेश थपलिया र नेकपा एमालेका जित बहादुर घिमिरेबीच पतिस्पर्दा हुने भएको छ । २०७४ को निर्वाचनमा कांग्रेसले ५ हजार १ सय ३१, नेकपा माओवादी केन्द्र ४ सय २७ मत पाएको थियो । तर नेकपा एमालेको तर्फबाट विजयी हाँसिल गरेका उम्मेदवारले कांग्रेसलाई ४३४ मत बढी अग्रता लिएको थियो ।
अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगायतको गठबन्धन गरेको छ । जसका कारण गत निर्वाचनको प्राप्त मतका आधारमा गठबन्धन दल मध्येका कांग्रेस र माओवादी केन्द्रको मत हिसाब गर्दा एमाले भन्दा गठबन्धन ७ मतले पछि परेको देखिन्छ भने एकिकृत समाजवादी, जनता समाजवादी लगायतका दलको मतका कारण गठबन्धनको बढी मत प्राप्त हुने देखिएको छ । गठबन्धनकै तर्फबाट खाँदबारी नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रबाट दिव्यराज बरालको उम्मेदवारी रहेको छ ।
२. चैनपुर नगरपालिका
२०७४ को स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार चैनपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले ५ हजार ३ सय १७ मत प्राप्त गरि विजयी भएका थिए । प्रतिद्धन्दी नेपाली काँग्रेसले ५ हजार १ सय ९२ अर्थात १ सय २५ मतान्तरमा हार व्यहोर्नु परेको थियो । सोही निर्वाचनमा नेकपा माओवादीले ७ सय ८४ मत पाएको थियो । अहिलेको निर्वाचनमा गठबन्धनपछी कांग्रेस र माओवादीको प्राप्त मत हिसाब गर्दा एमाले भन्दा गठबन्धन ६ सय ५९ मतले अगाडी छ । चैनपुरमासमेत नेकपा एकीकृत समाजवादीले एमालेको भोट काट्ने निश्तित छ । चैनपुर नगरपालिका प्रमुखमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काँग्रेसका ज्ञान बहादुर कार्की र उपप्रमुखमा माओवादीका लामखान तामाङ रहेका छन् ।
३. मादी नगरपालिका
मादी नगरपालिकामासमेत पाँच दलीय गठबन्धन अगाडी देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मादी नगरपालिकामा एमालेले २ हजार ७ सय ४० मत प्राप्त गरेको थियो । काँग्रेसले २ हजार १ सय २२ अर्थात ६ सय १८ मत बढीले एमाले विजयी भएको थियो । सोही निर्वाचनमा माओवादीले १ हजार १ सय ३९ मत ल्याएको थियो ।
उक्त मत परिणाम अनुसार कांग्रेस र माओवादीको मत जोड्दा ५ सय २१ मतले एमाले भन्दा गठबन्धन अघि देखिएको छ । मादी नगरपालिकाको प्रमुखमा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका दावाछत्र शेर्पा र उपप्रमुखमा नेपाली काँग्रेसका पासाङ शेर्पा रहेका छन् ।
४. धर्मदेवी नगरपालिका
धर्मदेवी नगरपालिकामासमेत पाँच दलीय गठबन्धन अगाडी देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार एमालेलाई ३ हजार ७० मत प्राप्त भएको थियो । काँग्रेस ३ हजार ९ सय ४० मत अर्थात ८ सय ७० मत बढीले कांग्रेसले जितेको थियो । सोही निर्वाचनमा माओवादीले ४ सय २४ मत पाए ।
२०७४ को निर्वाचनलाई आधार मान्दा अहिले धर्मदेवीमा पाँच दलीय गठबन्धन १ हजार २ सय ९४ मतले अगाडी छ । धर्मदेवी नगरपालिका प्रमुखमा गठबन्धनतर्फका उम्मेदवार नेपाली काँग्रेसका थलकुमार लिंखा र उपप्रमुखमा काँग्रेसकै तारा महत रहेका छन् । गत निर्वाचनमा धर्मदेवी नगरपालिकामा प्रमुख र उपप्रमुख काँग्रेसले जितेको थियो ।
५. पाँचखपन नगरपालिका
पाँचखपन नगरपालिकामा पाँच दलीय गठबन्धन अगाडी देखिएको छ । २०७४ को निर्वाचनमा एमालेले ३ हजार ३ सय ३० मत प्राप्त गर्दै हार व्यहोरेको थियो भने काँग्रेसले ७९ मतान्तरमा ३ हजार ४ सय ९ मत प्राप्त गरि जित हासिल गरेको थियो । यस्तै माओवादीले ५ सय १० मत पाएको थियो ।
पाँचखपनमा २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पद काँग्रेसले जितेको थियो । २०७४ मत परिणामलाई हेर्ने हो भने अहिले पाँचखपनमा ५ सय ८९ मतले गठबन्धन अगाडीे छ । पाँचखपन नगरपालिका प्रमुख पदमा गठबन्धनतर्फका उम्मेदवार विपीन राई र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीबाट सुमुना श्रेष्ठ रहेका छन् ।
६. सभापोखरी गाउँपालिका
सभापोखरी गाउँपालिकामासमेत पाँच दलीय गठबन्धन अगाडी देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार एमाले २ हजार ६० मत पाएसंगै ५७ मत बढीले कांग्रेसलाई पछी पार्दै जित हासिल गरेको थियो । काँग्रेसले २ हजार ३ मत प्राप्त गरेको थिया । सोही निर्वाचनमा माओवादीले २ सय ८५ मत ल्याएको थियो ।
२०७४ मा एमाले, कांग्रेस र माओवादीको प्राप्त मत हेर्ने हो भने सभापोखरीमा २ सय १ मतले गठबन्धन अगाडी देखिएको छ । सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अध्यक्षमा भिम बहादुर लिम्बु र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीकी लक्ष्मी चापागाई रहेका छन् ।
७. भोटखोला गाउँपालिका
२०७४ को स्थानीय तह निर्वाचन मत परिणामलाई अहिलेको गठबन्धन र एमालेबिच मत हिसाब गर्ने हो भने भोटखोला गाउँपालिकामा गठबन्धन अगाडी देखिएको छ । गत निर्वाचनमा एमालेले १ हजार २ सय २६ मत प्राप्त गरेको थियो । काँग्रेसले १ सय ४१ मतान्तरमा १ हजार ३ सय ७७ मत ल्याएर विजयी भएको थियो । सोही बेला माओवादीले १ सय ८८ मत ल्याएको थियो ।
यसलाई हेर्दा भोटखोलामा ३ सय २९ मतले गठबन्धन अगाडी देखिएको छ । भोटखोलामा गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फका उम्मेदवार नेकपा एकिकृत समाजवादीका चुङदाक भोटे र उपाध्यक्षमा नेपाली काँग्रेसका डुक्पा भोटे रहेका छन् ।
८. मकालु गाउँपालिका
२०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार मकालु गाउँपालिकामा अहिले गठबन्धन अगाडी देखिएको छ । एमालेले १ हजार ७ सय १२ मत प्राप्त गरी विजयी हासिल गरेको थियो । ७ सय ५७ कम मतका कारण कांग्रेसले हार व्यहोरेको थियो । सो निर्वाचनमा काँग्रेसले ९ सय ५५ मत प्राप्त गरेको थियो । यस्तै माओवादीले ८ सय ३४ मत ल्याएको थियो ।
२०७४ को मत परिणाम अनुसार मकालुमा ७७ मतले अहिले गठबन्धन अगाडी देखिएको छ । मकालु गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काँग्रेसका ओङदी शेर्पा र उपाध्यक्षमा माओवादीकी मनकला राईको उम्मेदवारी रहेकोे छ ।
९. शिलिचोङ गाउँपालिका
शिलिचोङ गाउँपालिकामा अहिले नेपाली कांग्रेस र माओवादीबिच प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा समेत माओवादी र कांग्रेसबिच नै निकटतम प्रतिस्पर्धा भएको थियो । २०७४ को स्थानयि तहको निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले १ हजार ८ सय ८१ मत ल्याएर विजयी भएको थियो । माओवादी केन्द्रका उम्मेदवारले भने १ हजार ३ सय ४७ मत प्राप्त गरेको थियो ।
यस्तै नेकपा एमालेले १ हजार ३ सय १० मत प्राप्त गरेको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जितेको थियो ।
१०. चिचिला गाउँपालिका
चिचिला गाउँपालिकामा अहिले नेपाली कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा समेत एमाले र कांग्रेसबिच नै निकटतम प्रतिस्पर्धा भएको थियो । २०७४ को स्थानयि तहको निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले १ हजार ४ सय ६२ मत ल्याएर विजयी भएको थियो । एमालेका उम्मेदवारले भने ७ सय ७० मत प्राप्त गरेको थियो । यस्तै माओवादी केन्द्रले ६ सय ३ मत प्राप्त गरेको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जितेको थियो ।
जिल्लाभर ७६ वडाहरुमा रहेका छन् । तीमध्ये ६० वटा वडा मात्र भागवण्डा भएको छ । जसमा काँग्रेसलाई ४६ वडा, माओवादी ६ वडा र एकिकृत समाजवादीलाई ५ र ३ वटा वडा जनता समाजवादी पार्टीको भागमा परेको छ ।
प्रतिक्रिया