तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमाले विजयी



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।

एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् ।

एमालेका खड्काले नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी भए । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरे ।

गठबन्धनबाट उम्मेदवार बनेका गिरी अघिल्लो चुनावमा पनि एमालेका घनश्याम पाण्डेसँग पराजित भएका थिए । गिरी पूर्व सांसद समेत हुन् ।

यस्तै उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गरिन् । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।

रानाले मतपरिणाम आउनु अगावै हार्ने निश्चित भएपछि नेकपा एकीकृत समाजवादीको जिल्ला इन्चार्जबाट राजीनामा दिएका थिए ।

तुलसीपुरमा १९ वटा वडामध्ये १० वटा एमाले, ५ वटा कांग्रेस, ३ वटा माओवादी र स्वतन्त्रबाट एकजनाले जितेका छन् । तुलसीपुरमा ७३ हजार मत खसेको थियो ।

सम्बन्धित समाचार