ताम्कु । संखुवासभाको सिलीचोङ गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशन आइतबारबाट सुरु भएको छ। गाउँपालिकाको सभाहलमा सुरु भएको अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
सभाध्यक्ष भुपालराज मेवाहाङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गर्नुभएको थियो। प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल सुरु भइसकेको छ भने आगामी असार १० गते बस्ने बैठकमा निर्णयार्थ पेश गरिने जनाइएको छ।
अधिवेशनले गाउँसभा सञ्चालन नियमावली सर्वसम्मत रूपमा पारित गरेको छ। वडाध्यक्ष देबेन्द्र राईले पेश गर्नुभएको उक्त नियमावलीलाई सभाले अनुमोदन गरेको हो। साथै, वडाध्यक्ष ईश्वर राईले पेश गर्नुभएको हालसम्मको बेरुजु सम्परीक्षण सम्बन्धी प्रस्ताव पनि पारित भएको छ।
त्यसैगरी, सभा सदस्य बुद्रोस राईले विषयगत समिति खारेज गरी नयाँ समिति गठन गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरिएको छ।
उपाध्यक्ष तथा न्यायिक समिति संयोजक देविता कुलुङले न्यायिक समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्दै निर्णयार्थ पेश गर्नुभएको थियो। उक्त प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारित भएको छ।
वडा अध्यक्ष प्रतापसिंह तामाङले करार सेवामा कार्यरत कर्मचारीहरूको करार सम्झौता सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावलाई समेत सभाले अनुमोदन गरेको छ। त्यस्तै, १६औँ गाउँसभादेखि हालसम्म भएका कार्यपालिका बैठकका निर्णय अनुमोदनका लागि वडा अध्यक्ष मोहन सशेर कुलुङले पेश गर्नुभएको प्रस्ताव पनि पारित भएको छ।
अधिवेशनमा कार्यपालिका सदस्य सन्तोष राईले विभिन्न १९ वटा विधेयक पेश गर्नुभएको थियो। सभाध्यक्ष मेवाहाङले ती विधेयकहरू दफावार छलफलका लागि विषयगत समितिमा पठाउनुभएको छ। समितिहरूलाई विधेयकमाथि छलफल गरी असार ९ गतेभित्र प्रतिवेदनसहित गाउँसभा सचिवालयमा पेश गर्न निर्देशन दिइएको छ।
गाउँसभाको अर्को बैठक असार १० गते बस्ने तय गरिएको छ। उक्त बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने, बजेट वक्तव्य पेश तथा पारित गर्ने, आर्थिक विधेयक र विनियोजन विधेयक पारित गर्ने तथा विषयगत समितिमा पठाइएका १९ वटा विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।
सोही दिन गाउँसभाको १९औँ अधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको गाउँसभा सचिवालयले जनाएको छ ।


प्रतिक्रिया